दाङ, १२ असोज । टेलिभिजन शो ‘लोकदोहोरी स्टार’ सिजन २को अडिसन राउण्डमा दाङ शान्तिनगर ६ का मिलनराज पुन सहभागी भएका छन् । एभेन्टोज स्टुडियोको आयोजनामा सुरु भएको शोको अडिसनमा आइतबार मिलनले प्रस्तुती दिएका हुन् । अडिसनको निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार र चन्द्र शर्मा रहेका छन् ।
राष्ट्रिय मञ्चमा पश्चिम दाङको प्रतिनिधिमुलक पात्र, नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका मिलनको आवाज गुन्जिएको छ । लोकदोहोरी संगीतप्रति रुचि राख्दै आएका मिलनले आफ्नो गायन प्रतिभालाई राष्ट्रियस्तरको मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘लोकदोहोरी स्टार’को अडिसनमा सहभागिता जनाएको बताएका छन् ।
शान्तिनगरको स्थानीय परिवेशबाट सांगीतिक यात्रा अघि बढाइरहेका मिलनका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ । ग्रामीण क्षेत्रबाट सांगितिक क्षेत्रमा उदाएका मिलन आफ्नो प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा लिएको उनले बताए । गायन क्षेत्रमा रुचि राख्ने मिलनले यसअघि पनि विभिन्न स्थानीय कार्यक्रम तथा सांगीतिक गतिविधिमा सहभागी हुँदै आफ्नो क्षमता प्रस्तुत गर्दै आएका छन् ।
उत्कृष्ट, मौलिक रियालिटी सोको प्रतिस्पर्धामा मिलन लामाको ‘झल्को लाली ओठको’ बोलको गीतमा उनले आवाज दिएका थिए । उनको प्रस्तुती पछि निर्णयक मण्डलहरुले मिठो र राम्रो गीत गाएको र स्वरले पनि साथ दिएको भन्दै आगामी चरणको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उनले ‘लोकदोहोरी स्टार’को आगामी चरणमा पुग्न र सफलता पाउन दाङवासीको साथ, हौसला र सहयोगको अपेक्षा गरेका छन् । उनले संगीतप्रेमी, कलाकार, शुभेच्छुक तथा सम्पूर्णलाई आफ्नो यात्रामा साथ दिन आग्रह गरेका छन् । यो कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट हरेका आइतबार र सोमबार राती ८ बजे प्रसारण हुने गरेको छ ।

