२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याए । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ ।

बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्‌घाटन सत्रमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको हुनसक्ने तथापि, अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उनले उल्लेख गरे ।

अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।  लुम्बिनी प्रदेशका ६ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए। सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनु पर्ने उनको जोड थियो । लागू औषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको उनको भनाइ छ ।

उनले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए ।  कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसानहरू मर्कामा परेको उल्लेख गर्दै उहाँले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए । 

गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरू, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिनेछ । उद्‌घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदे शकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनाल लगायतको विशेष उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस