दाङ, १८ फागुन । तुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो ।
महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय उत्पादको बजारीकरण र कला संस्कृतिको संरक्षण गर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले तुलसीपुर महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन ।
उनले आगामी मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव समेत दिएका हुन । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ले स्थानीय उत्पादनका स्टल ५० प्रतिशतभन्दा बढी भएमा महोत्सवको महत्व अझ बढ्ने बताएका हुन । उनले आगामी दिनमा आयातित वस्तुभन्दा स्थानीय कृषिजन्यवस्तुले स्थान पाउनुपर्ने बताएका हुन ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षकत्वमा महोत्सव संचालन गरिएको हो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने भनिएपनि दुई थप संचालन भएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सव अवधिभर दर्शकले दिएको साथको प्रशंसा गरेका हुन । उनले महोत्सव सौभार्दपूर्ण वातावरणमा समापन गर्न पाउन निकै हर्षित भएको बताएका हुन । उनले महोत्सव संचालनका आयव्यय छिटै सार्वजनिक गरिने बताएका हुन ।
महोत्सवमा शनिबारसम्म स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको प्रस्तुति, विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता भएका थिए । आइतबार महोत्सव सकिएपनि महोत्सवस्थलमा किनमेल गर्नेको संख्या अत्याधिक देखिएको छ ।