दाङ, २१ फागुन । तुलसीपुर बजारमा खानेपानीको व्यवस्थापन गरिरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि चुनावी रौनक शुरु भएको छ । चैत २ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका छन ।
वहालवाला भण्डारीलाई अध्यक्ष
काग्रेसबाट बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई नै अध्यक्षको उमेदवार बनाएको छ । यस्तै कांग्रेसले उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उमेदवार बनाउने भएको छ । थापा अहिलेको बहालवाला कोषाध्यक्ष हुन । उनि यसअघि स्वतन्त्रबाट लोकप्रिय मतका साथ निर्वाचित भएका थिए ।
एमालेवाट अध्यक्षमा लामिछाने
यता नेकपा एमालेले पनि उम्मेदवारको टुङ्गो लगाएको छ । चुनावमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर जाने निर्णय भएको छ ।
एमालेले अध्यक्षसहित सचिव, कोषाध्यक्ष, तीन महिला सदस्य र दुई पुरुष खुला सदस्य सहित आठ पदाधिकारी पाएको छ भने राप्रपालाई उपाध्यक्ष पद दिइएको छ ।
नेकपा एमालेको तर्फबाट खानेपानी संस्थाका पूर्व सचिव मनोज लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिएका हुन ।
यस्तै, उपाध्यक्षमा राप्रपाका तर्फबाट लक्ष्मण केसी उम्मेदवार बनेका छन । सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सपना बस्नेत भण्डारी, महिला सदस्यहरूमा छमा भण्डारी, सुशीला ओली र प्रमिला तिवारी रहेका छन ।
यस्तै, पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुशील न्यौपानेलाई उम्मेदवार बनाएको सचिव डाँगीले जानकारी दिएका हुन ।
सात दलको समर्थनमा अध्यक्षमा शर्मा
माओवादीबाट अध्यक्ष पदमा उम्मेदवार शर्मालाई सात दलको समर्थन रहेको छ । खानेपानीको आगामी नेतृत्वका नेकपा माओवादी केन्द्रसहित सात दलको तर्फबाट उमेदवारको भागवन्डा लगभग टुंगो लागेको छ । माओवादीकातर्फबाट बहालवाला उपाध्यक्ष सीताराम शर्मालाई अध्यक्षको उमेदवार बनाउने यसअघि नै निर्णय भइसकेको छ । गठबन्धनमा माओवादीसहित, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी , नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेसपा रहेका छन् ।
दलिय भागवन्डा अनुसार माओवादीले अध्यक्ष सहित दुई सदस्य, राजमोले उपाध्यक्ष,नेकपा विप्लव सचिव,रास्वपाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने छन् । यस्तै एकीकृत समाजवादीले दुई र नेकपा क्रान्तिकारीले एक सदस्य पाउने सहमति भएको छ ।