
धुलोको मुस्लो चिरेर,
धुवाँका बादल भित्र डुबेर,
ध्वनि चिरपिरमा कान च्याते पनि,
ऊ उभिएको छ
सडकको किनारमा,
जीवनको रक्षार्थ,
त्रास नमानिकन, थाक नमानिकन ।
कसैको रफ्तार रोक्न,
कसैको लापरवाही सम्झाउन,
कसैको घर पुग्ने बाटो सुरक्षित बनाउन
ऊ दिनरात उभिन्छ,
सातै दिन, बर्सै दिन,
न त चाडपर्व छ,
न आफन्तसँग रमाइलो,
सबै त्यागेर,
केवल तापाईको रक्षार्थ ।
दुई थान कपडा,
त्यो पनि धुलोले मलीन,
नूनपानीले भिजेको शरीर,
तर अनुहारमा गम्भीर जिम्मेवारीको उज्यालो।
सिटी फुकेको आवाज,
तिमीलाई झर्को लाग्छ होला,
तर त्यो आवाज हो ।
जसले तिमीलाई दुर्घटनाबाट जोगाउँछ,
तिम्रो टाउको फुट्न नदिन सचेत गराउँछ,
तिमीलाई तिमी नै बच्न सिकाउँछ ।
“बिस्तारै जानुहोस्,”
भन्छ ऊ
किनकि उसले देखेको छ,
कति टुटेका सपनाहरू,
कति च्यातिएका जिन्दगीहरू
त्यही सडकको पेटीमा ।
“हेलमेट लगाउनुहोस्,”
भन्छ ऊ
किनकि उसले समेट्नु परेको छ,
कसैका चिथोरिएका भविष्यहरू,
कसैका सिद्दिएका आहातहरू ।
तर तिमी रिसाउँछौ,
तिमी हकार्छौ,
उसको सल्लाहलाई उपहास ठान्छौ ,
धाक लाउछौ हुँइकिन्छौ ।
तर जान्नुहोस्
ऊ उभिएको छ,
स्वास्थ्य बेचेको छ,
सपना बेचेको छ,
र तिम्रो जीवनको सुरक्षा किनेको छ ।
आफ्नो आत्मा र शरीरको सास्ती साटेर ।
उसलाई सम्झ, उसको योगदान सम्झ,
उसको निःस्वार्थ कर्म सम्झ,
उसको पसिनामा बगिरहेको तिम्रो भविष्य सम्झ ।
उ
सडकको सिपाही हो,
जीवनको पहरेदार हो,
नमानी नथाकी
तिमी र तिम्रो परिवारका खुसी जोगाइरहेछ ।
सधैं सम्झ
ट्राफिक प्रहरी
तिम्रो सुरक्षित घर फर्कने यात्राको
अदृश्य देवदूत हो
लेखक:लक्ष्मण वली