२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा : पूर्व अध्यक्ष राना

दाङ, २१ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी रानाले देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको बताइन् । शनिबार  तुलसीपुर उद्योग वाणिज्य सङ्घको ३० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधार गर्न व्यवसायीका कुरा राज्यले सुन्नुपर्ने बताइन् । अहिले उत्पादन ५० प्रतिशत रहेको भन्दै उनले त्यसमा पनि उपभोक्ता नभएको समेत बताइन् ।

उनले एयरपोर्टमा गएर हेर्ने हो ? भने दैनिक सयौँको सङ्ख्यामा युवाहरू विदेश गइरहेका भन्दै कलेजमा पढ्ने विद्यार्थीहरू समेत नरहेको बताइन् । यस्तै उनले कुरा मात्रै गरेर देशको अर्थतन्त्रमा सुधार नहुने भन्दै पर्यटन, उर्जा र आईटी क्षेत्रको सुधारका लागि राज्यले विशेष योजना हुनुपर्ने बताइन् । कार्यक्रममा  तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले निजी क्षेत्र र सरकारको सहकार्य बिना तुलसीपुरको समृद्धि हासिल गर्न नसकिने बताए । उनले पर्यटन, पूर्वाधार, शिक्षा सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्रको विकासका लागि राम्रो सम्भावना रहेको बताउँदै मेयर खड्काले सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

यस्तै नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज कर्णिकारले सामाजिक सञ्जालले समाजलाई अँध्यारो तर्फ धकेलेको बताए । उनले  सामाजिक सञ्जालमा भ्रमपूर्ण खबरहरू आउने गरेकै कारण यसले सामाजिक विखण्डन निम्त्याएको उल्लेख गरे । 

त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान, नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादीका मोहन थापा, राप्रपाका दामोदर भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, कान्तिपुरका उपसम्पादक दुर्गालाल केसी, डाक्टर किशोर खत्री, तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विरु रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए । सङ्घका अध्यक्ष विनील केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव केशव केसीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रूपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस