२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेपाल आर्मीले जित्यो राष्ट्रिय खुला पुरुष खोखो प्रतियोगिताको उपाधि

दाङ, २८ बैशाख । दाङको तुलसीपुरमा आयोजित प्रथम राष्ट्रिय खुला पुरूष प्रतियोगिता खोखोको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । जिल्ला खोखो सङ्घ दाङले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम खुला पुरूष प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले पछाडि पार्दै उपाधि जितेको हो । उपाधि विजेता आर्मीले नगद ५० हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। वैशाख २६ गतेदेखि २८ गतेसम्म तुलसीपुरको अरनिको मैदामा आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश उपविजेता बन्यो । उसले २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश तृतीय बन्यो । उसले दश हजार पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । 

गत हिउँदमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरूष टिमलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तुलसीपुरका बेद बहादुर वलीलाई नगद दश हजार रकमसहित सम्मान गरेको थियो ।

यस्तै सोही प्रतियोगितामा नेपाली महिला टिम पनि उपविजेता बनेको थियो । महिला टिमकी प्रशिक्षक तुलसीपुरकी उषा कुँवरलाई पनि सम्मान गरिएको थियो ।  

दाङले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेशका टिम र एउटा विभागीय टिम नेपाल आर्मीको सहभागी थिए। लिगकम नकआउट सिष्टमबाट खेल खेलाइएको थियो ।

दाङ जिल्ला खोखो सङ्घका जिल्ला अध्यक्ष बालकृष्ण शाहले राष्ट्रिय प्रतियोगिता सकिएको वैशाख २९ गते नेपाल र भारतका बीच प्रतिस्पर्धा हुने बताए । भारतको एउटा टिम र नेपालका दुई टिमका बीचमा प्रतियोगिता हुने भएको छ । भारतसँगको प्रतिस्पर्धाका लागि नेपाली दुई टिमको आइतबार नै छनोट गर्ने भएको छ । भारतीय खेलाडीहरू तुलसीपुर आइसकेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस