दाङ, १ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका ३ सातबासमा दुईदिने खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नवज्योति सांस्कृतिक युवा क्लबको २४औँ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी धार्मिक मेला २०८३ को अवसरमा आगामी मङ्सिर २ र ३ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिएका छन ।
प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने छ । टिम दर्ताको अन्तिम समय मङ्सिर २ गते बिहान ७ बजे सम्म तोकिएको आयोजकले जानकारी दिएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने र युवाहरूको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसैगरी, वार्षिकोत्सव तथा धार्मिक मेलाको अवसरमा मङ्सिर ४ गते विशेष सांस्कृतिक कार्यक्रमसमेत हुने छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप जानकारीका लागि क्लबका अध्यक्ष धनराज रोका तथा खेल संयोजक अनिल परियारलाई सम्पर्क गर्न सकिने छ ।
