२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

श्रमदान गरेर पुल बनाउदै वडाध्य पुन सहित स्थानीयहरु

दाङ, १ जेठ । दाङको बिजौरी हुँदै रोल्पा होलेरी– दहबन सडक अन्तर्गत रानीवास स्थित ग्वारखोलामा पुल नहुँदा रोल्पाको रुन्टीगढी, त्रिवेणी र सल्यानको कपुरकोट गाउँपालिकाका केही वडाका नागरिकहरूले बर्खामा निकै समस्या भोग्दै आएका छन् । यो ठाउँमा पुल निर्माणको लागि पटक पटक आश्वासन आएको भएयता पनि अहिलेसम्म कुनै पनि काम नभएपछि रुन्टीगढी ८ का जनप्रतिनिधि र स्थानीयहरु अस्थाई पुल निर्माण गर्न जुटेका छन । स्थानीय भीम बहादुर पुनका अनुसार यो सडकले रोल्पाको पश्चिम क्षेत्रका नागरिकहरूलाई दाङ र रोल्पा जोड्ने मुख्य नाका हो । दाङ तुलसीपुर रोल्पाको रुन्टीगढी हुँदै शहीद मार्ग दहबन जोडेर तिला, घर्तीगाउँ थबाङ जाने यो सडक रहेको समेत उनले बताए ।

२०६२ र ६३ सालमा यो कच्ची सडकका रुपमा विकास भएपनि अहिलेसम्म स्तरोन्नति नभएको उनको भनाइ छ ।  दूरी हिसाबले पनि दाङदेखि २४ किलो मिटर रहेको भन्दै उनले घोराहीबाट शहीद मार्ग बनाएपछि यो सडक ओझेलमा परेको बताए । उनले भने,‘ यहाँका राजनीतिक दलहरूले यो ग्वारखोलाको बाटोमा ध्यान नदिँदा यो अवस्था रहेको हो । पहिला घन्टौँ हिँडेर दाङ जानु पर्ने बाध्यता थियो । तर, सडक बनेपछि राहत भयो । ग्वारखोलामा पुल नहुँदा  बर्खा शुरु भएपछि यातायात बन्द हुन्छ । त्यसैले हामीले अस्थाई रुपमा मानिसहरू हिँड्नको लागि पुल बनाउ लागेका हौँ ।’

यस्तै उनले सडकमा पुल नहुँदा यातायात बन्द हुँदा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको समेत बताए । पुल नहुँदा बिरामीहरूले अस्पताल लैजान र ल्याउन निकै समस्या हुने गरेको भन्दै उनले शहीदमार्ग होलेरी हुँदै घोराही वा कपुरकोट हुँदै जानु पर्ने बाध्यता रहेको पनि बताए । यहाँ पुलको लागि पटक पटक आफूहरूले पहल गर्दै आइरहेको भएयता पनि अहिलेसम्म सुनुवाइ नभएपछि स्थानीयहरु नै मिलेर अस्थाई पुल निर्माण गर्नका लागेको उनको भनाइ छ । अर्का स्थानीयले पनि सडकमा हिउँदको समयमा जसोतसो गाडीहरू सञ्चालन हुने भएयता पनि बर्खा लागेपछि खोलामा पुल नहुँदा बन्द हुने गरेको बताए ।

उनले भने,‘ यो खोलामा पुल निर्माण गर्ने भनेर पटक पटक अनुगमन गर्न आउँछन् । तर, अहिलेसम्म काम भएको छैनन् । हामीलाई आश मात्र देखाउने काम भएको छ । त्यो भएर हामी आफै अस्थाई पुल निर्माणका लागेको हौँ ।’ खोलामा पुल नहुँदा बिरामीहरू बोकेर दाङ लैजानु पर्ने बाध्यता रहेको भन्दै उनले मोटरसाइकल र पैदल यात्रुले सहज रुपमा खोला तर्न सकुन्, भन्ने उपदेशले नै आफूहरू पुल निर्माणका लागि जुटेको समेत बताए । यस सडकको स्तरोन्नति र पुलको लागि पहल नभएको भने होइन् । तर, अहिलेसम्म आश्वासन मात्र पाइरहँदा यहाँ नागरिकहरूले ज्यान जोखिममा राखेर  यात्रा गर्न बाध्य  भएका छन् ।

स्थानीयहरुसँगै  रुन्टीगढी गाउँपालिका ८ कि वडाध्यक्ष तुल्सी पुन पनि पुल निर्माण लागेकी छन । यो खोलामा पुल निर्माणका लागि अघिल्लो सङ्घीय सरकारले १ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । तर, अहिलेको सरकारले त्यो बजेट कटौती गरेको वडाध्यक्ष पुनको भनाइ छ । पुल बन्ने आशमा रहेका स्थानीयहरु बजेट कटौती भएपछि यस पटकको बर्खामा पनि उस्तै समस्या भोग्नु पर्ने अवस्था रहेपछि अस्थाई पुल निर्माणका आफूहरू जुटेको उनको भनाइ छ । उनले भनिन्,‘ खोलामा पुल नहुँदा यहाँका नागरिकहरूले निकै पीडा भोग्दै आएका छन् । सुत्केरी हुनको लागि होस् वा अन्य बिरामी उपचार गर्न दाङसम्म जानको लागि बर्खामा यो खोला बाधक बन्छ ।

राज्यले पुल बनाउन चासो नदिएपछि हामीहरू आफै लागेका छौँ । ’ यस्तै उनले पुल कस्तो बनाउने र कसरी जाने भन्ने कुनै प्राविधिक इस्टमेट नभएको र सबै जनश्रमदानबाट बन्न लागेको समेत बताइन् । खोलामा पुल नहुँदा करिब ६ महिना यातायात आवागमन बन्द हुने हुँदा र यहाँ अरु कुनै वैकल्पिक बाटो नहुँदा समस्या हुने हुँदा अस्थाई रुपमा मोटरसाइकल र पैदल यात्रु सहज रुपमा खोला पार गर्न सकुन् भन्ने उद्देश्यले पुल निर्माण गर्न लागेको उनको भनाइ छ ।

उनका अनुसार सल्यानको कपुरकोट गाउँपालिका १ र २ वडा, त्रिवेणी गाउँपालिकाका केही वडा र रुन्टीगढी गाउँपालिकाका नागरिकहरू दाङ आउने मुख्य यो सडक नै हो । यो खोलामा स्थायी पुल निर्माणको लागि गाउँपालिकाको बजेटले मात्र नपुग्ने र सङ्घ र प्रदेश सरकारले यो पीडा नदेख्दा आफूहरू जनश्रमदानबाट अस्थाई पुल निर्माण गर्न लागेको समेत उनले बताइन् । अहिले खोलाको दुई किनारमा पुलको लागि वाल लगाउने काम भइरहेको भन्दै उनले जतिसक्यो चाँडो पुल निर्माण गरेर बर्खामा सहज बनाउन आफूहरू लागि रहेको समेत बताइन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस