जिवनको दैनिक दौडधूप, आवाज, धूलो र भागदौडले भरिएको जीवनले केही दिन आफ्नो जन्म संगै कर्म थलोबाट अल्लि टाढा बनायो । त्यसैले म २०८२ साल जेठ १८ गते, म एउटा कार्यक्रमले नेपालको एक अनुपम र स्वाभाविक सौन्दर्यले भरिएको जिल्ला मुगुको यात्रा गरे ।
१९ गते गाडी बन्द हुने समाचार आइरहेको कारण १८ गते साझै दाङ बाट यात्रा सुरु गरियो। मुगु तिर जाने उत्साहले ३ घण्टाको गाडी यात्रामा पनि थकानको अनुभूति थिएन। त्यसैले नेपालगञ्ज सम्मको यात्रा रमाइलो रह्यो ।
तर नेपालगन्ज देखि मुगु १९ गते नै जाने भनिए पनि मौसम संगै प्राविधिक कारणले २१ गते मात्र नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्मको हवाई यात्रा तय भयो तर त्यो हवाई यात्रा छोटो भए पनि साहसिक थियो । एकातिर झ्यालबाट देखिने हरियाली डाँडाहरू, ठुला-ठुला पहाड अनि अर्कोतिर हावाको हल्का झट्काले उडिरहेको प्लेन लाई हल्लाउँदा कतै डर त कतै अझ रोमाञ्चक बनाइरहेको थियो । जब बिस्तारै प्लेनले मुगु प्रवेश गर्दै चंखेली हिमालको शिर, सुन्दर रारा, गमगदी बजार , खप्तड क्षेत्र देखिन थाल्यो अनि लाग्यो साच्चै स्वर्गको टुक्रामा आइएछ ।
जब हामी ताल्चा विमानस्थलमा झर्यौ हाम्रो स्वागतको लागि प्रथम रारा महोत्सवमा अध्यक्ष प्रिय दाइ नरेश भाम र कलाकार दाइ शान्त राम सेन्चुरी हातमा रातो खादा लिएर हाम्रो स्वागतको लागि तयार हुनुहुदो रहेछ । अनि हामी उहाँ हरु संगै अगाडि बढिउ साच्चै भन्नुपर्दा, त्यो क्षण जीवनकै अविस्मरणीय थियो ।
जब हामी केही समय गाडीको यात्रा गरेर घोडामा चडी रारा पुग्यौ अनि लाग्यो साच्चिकै आफ्नै सुन्दरतामा रमाइरहेको मुगु त्यहीँ भित्र शान्त पहाडको काखमा निदाएको, रारा तालको निलो मुस्कानले अझ धेरै सजिएको एउटा सपनाजस्तो सहर रहेछ । निलो पानी, चारैतिर हरियाली र सिधा पानीमा हेर्दा आकाशको प्रतिबिम्ब । त्यो दृश्य केवल आँखाले हेर्ने होइन आत्माले महसुस गर्ने खालको थियो । त्यहाँ केही बेर बस्दा लाग्थ्यो संसारको हरेक तनाव, दौड, एक्लोपन यहीँ आएर बगिहाल्छ होला ।
त्यति मात्र हैन पर्वतहरूका छायाँमा लुकेको सौन्दर्य, बादलसँग कुरा गर्ने डाँडाहरू, सल्लाका रुखहरू बाट निस्कने हावाको संगीतले लाग्थ्यो त्यहाँका हरेक पाइलामा आफ्नै सुन्दरता छ ।
त्यहाँको प्रकृतिक मात्र हैन मुगुमा रहेका स्थानीय गाउँहरूमा पुग्दा त्यहाँका मानिसहरू अत्यन्तै सरल, स्वागत शील र आत्मीय पन झल्काउने पाए उहाँ हरुको जीवनशैली, भाषा, हाँसो र व्यवहार सबैले मन जिति रह्यो । त्यहीँ हासो भित्र चट्या नै चट्यानको पहाड मुनि रटरम्म फलिरहेका स्याउ सल्लेरी पाखाको बीचबीचमा ओखरको बोट अनि हिउँले कठाङ्रिएको सिस्नो आफ्नै श्रमले उत्पादन भएको मार्सी चामल , लोकल सिमिको दाल,कोदो ,फापर , संगै चिसो पानीको आफ्नै पहिचान थियो ।
मुगुको यात्रा मेरो लागी केवल एउटा भौगोलिक गन्तव्यसम्मको यात्रा मात्र रहेन । त्यो एक आत्मिक पुनर्जागरण पनि थियो। मोबाइल सिग्नल नभएको केही घण्टा, कुनै सूचना वा सामाजिक सञ्जालको तनाव बिना बितेका पलहरूले मलाई सम्झाए कि कहिलेकाहीँ मौनतामा पनि ठूलो शक्ति हुदोरहेछ ।
२२ दिन सम्मको मेरो बसाइँमा त्यहाँको भौगोलिक मात्र हैन मुगुको राजनीतिक , आर्थिक , सांस्कृतिक संगै सामाजिक बिकासको बारेमा पनि बुझ्ने अवसर मिल्यो तराईका ठुला ठुला सहरमा समेत गुडन नसकिरहेको नगर बस आफ्नो सांस्कृतिक झल्कने गीतका धुनमा त्यो मुगुका ठुलाठुला चट्टाने पहाडका फेद देखि सल्लेरी पाखा हुँदै टुप्पो सम्म गुडि रहन्थ्यो । त्यो बस कहिले रारा तालको नजिक पुग्थ्यो , कहिले पहाडको धारमा अडिएर थकित यात्रुहरूलाई विश्राम दिन्थ्यो। त्यहीँ बस भित्र स्थानीयहरू संगै जीवनका धेरै रंगहरू भेटिए – सबैजना एउटै “नगर बस” मा मिलेर हाँसिरहेका, रमाइरहेका र अघि बढिरहेका थिए । यो नगर बस कुनै सहरको हल्लाखल्ला गर्ने गाडी थिएन – यो त पहाडको फेदमा, हरियालीबीच, धूलामाटोका बाटो हुँदै हिडिरहेको एक बटुवा जस्तो थियो ।
अनि त्यो देख्दा लाग्थ्यो नेतृत्व गर्ने मानिस असल र सक्षम भए गर्ने बिचारले रहेछ , विवेकले रहेछ । त्यो मैले छायाँनाथ नगरपालिकाका नगरप्रमुख सँग भेटे जसका कारण भौगोलिक हिसाबले निकै दुर्गम भए पनि आफ्नै पहिचानमा अगाडि बढिरहेको छ छायाँनाथ नगरपालिका ।
साच्चै कै नेपालको सुदूर उत्तर-पश्चिमी कुनामा अवस्थित मुगु जिल्ला भौगोलिक रूपमा विकट भए पनि सांस्कृतिक, प्राकृतिक र मानवीय दृष्टिकोणले अत्यन्त समृद्ध छ। त्यहाँको कठोर जीवनशैली, अपार सम्भावनाहरू र शुद्ध मन भएका व्यक्तित्व हरूसँगको आत्मीय सम्बन्धले मलाई मानवताको गहिरो छाप छोडेको छ ।
मुगुमा पुगेपछि मैले आत्मीयताको साँचो अर्थ बुझेँ त्यो नरक्तको सम्बन्धमा मात्र सीमित रहन्छ, न त सुविधामा भर पर्छ। त्यो त हृदयको गहिराइबाट आउने भावना रहेछ । मैले उहाँ हरुको आँखामा जुन आत्मीयता भेटे त्यो प्रविधिले दिन नसक्ने न्यानोपन भन्दा गहिरो थियो । अनि त्यो क्षण मैले महसुस गरेँ — आत्मीयता भनेको उपस्थिति मात्र होइन, अनुभूति रहेछ ।
अन्त्यमा, मुगु संगै मुगुकाका मानिसहरूसँग आत्मीयता राख्न सक्नु आफैंमा एउटा जीवनको पाठ रह्यो । जसले सन्देश दिन्छ कि साँचो सम्बन्ध सुविधा होइन, समझदारी र मानवता रहेछ । मुगुको हिमाली हावा जस्तै शुद्ध हजुरहरूको हृदयमा आत्मीयताको त्यो बास सधैं सँगै रहनेछ ।
यो यात्रा मेरो सधैँ सम्झनामा रहनेछ –
जहाँ म आफैँलाई फेरी भेटेँ,
जहाँ प्रकृतिले मलाई काखमा राखेर हौस्यायो,
र जहाँ मुगु, आफ्नै सुन्दरतामा रमाइरहेको पाएँ ।
– केवी वली,
२०८२ असार १६ दाङ तुलसीपुर