२०८३ जेष्ठ ४ गते सोमवार | 2026 May 18th Monday

बगरमा हरियाली, तरबुजाबाट आत्मनिर्भर बन्दै दाङका युवा

दाङ,३ जेठ । दङ्गीशरण गाउँपालिका वडा नम्बर १ रामपुरका पाँच जना युवाहरू सामूहिक रूपमा व्यावसायिक तरबुजा खेतीमा जुटेका छन् । बबई नदी किनारको उराठिलो बगर अहिले हरियालीमा परिणत भएको छ ।

कृषक कृष्ण चौधरी सहित पाँच जना युवाले १२ कठ्ठा क्षेत्रफलमा आहाना, पूजा, सरस्वती, दिव्या र स्वीटहनी जातका तरबुजा खेती गरेका हुन् । उत्पादन राम्रो भएपछि किसानहरू उत्साहित बनेका छन् ।

कृषक चौधरीका अनुसार कृषि क्षेत्रमा अनुभव भएकाले स्वदेशमै आत्मनिर्भर बन्ने उद्देश्यसहित पाँच वर्षदेखि कृषि व्यवसाय गर्दै आएका हुन् । पहिलो वर्षमै राम्रो आम्दानी भएपछि अहिले सामूहिक रूपमा तरबुजा खेती विस्तार गरिएको उनले बताए ।

हाल आहाना जातको तरबुजा प्रतिकिलो ८० रुपैयाँ तथा स्वीटहनी, सरस्वती, पूजा र दिव्या जात प्रतिकिलो ५० रुपैयाँमा गाउँमै बिक्री भइरहेको छ । दैनिक १०० देखि १५० किलोसम्म बिक्री हुने गरेको र आधाभन्दा बढी उत्पादन बिक्री भइसकेको किसानहरूको भनाइ छ ।

बाहिरी देशबाट सस्तो तरबुजा भित्रिँदा स्थानीय किसान मारमा परेको भन्दै सरकारले आयात नियन्त्रण गर्नुपर्ने कृषकहरूको माग छ । कम विषादीयुक्त तथा जैविक उत्पादन भएकाले उपभोक्ताको रोजाइमा परेको उनीहरू बताउँछन् ।

स्थानीय उपभोक्ताले पनि गर्मीयाममा गाउँमै ताजा तरबुजा सहज रूपमा पाउन थालेपछि खुसी व्यक्त गरेका छन् । खेर गइरहेका बगरको सदुपयोग गर्दै कृषि कर्ममा लागे स्वदेशमै आत्मनिर्भर बन्न सकिने उदाहरण दाङका यी युवा कृषकहरूले प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस