दाङ, १९ साउन । दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नं. ३, बस्तिखोलामा जन्मिएका गायक प्रकाश बि.सी. विगत १५/१६ वर्षदेखि भारतको गोवा राज्यमा परिवारसहित बसोबास गर्दै आएका छन् । रोजगारीको सिलसिलामा गोवा पुगेका बि.सी.ले नेपाली लोकगीतमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन् ।
विदेशमा रहँदै नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहेका बि.सी.ले गोवा बाटै झण्डै एक दर्जन जति लोकगीत रेकर्ड गरी सार्वजनिक गरिसकेका छन् । यस वर्षको तीजलाई लक्षित गर्दै उनले ‘बुट्टे साडी’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन्, जुन स्टार जोन मिडिया मार्फत बजारमा आएको हो ।
गीतमा गायक प्रकाश बि.सी. र गायिका दुर्गा रोकाया खड्काको आवाज रहेको छ । शब्द श्याम कुमार बि.सी. तथा संगीत सुबास घर्तीको रहेको यस गीतलाई निकै नचाउने खालको बनाइएको छ ।
भिडियो पक्षमा पनि गीत निकै आकर्षक बनेको छ । लोकप्रिय कलाकारहरू धिरेन शाक्य, किशोर खतिवडा, मिस पबि, र प्रकाश गिरीको अभिनयले गीतलाई थप आकर्षण दिएको छ । यसअघि पनि गायक बि.सी.ले चर्चित कलाकारहरूलाई लोक गीतमा अभिनय गराउँदै आएका छन् । ‘पैतलु सारेर’ बोलको तीज गीतमा शितल के.सी.लाई र ‘भर हुँदैन भदौरे पानीको’ गीतमा जय किशन बस्नेतलाई अभिनय गराएका थिए ।
गीत ‘प्रदेशबाटै पिरती लाइहालम’, ‘ठिटो हुँ म दाङ शान्तिनगरको’, ‘दाङ घोराही बजार’, ‘सल्लेरीको बन’, ‘पैतलु सारेर’ जस्ता चर्चित लोकगीतहरूबाट दर्शकदर्शिकाको मन जितेका गायक प्रकाश बि.सी.ले यसपालिको ‘बुट्टे साडी’ गीत पनि श्रोतामाझ निकै लोकप्रिय बन्दै गएको छ । भारतको सुन्दर सहर गोवामा बसेर नेपाली गीतसंगीतमा निरन्तर योगदान दिइरहेका बि.सी.को प्रयासले विदेशमा रहेका नेपाली कलाकारहरूको लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।
