२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

चिसो सिरेटोमा सङ्गीतको राप, बद्री र टिकाको प्रस्तुतिमा झुमे दर्शक 

दाङ, १५ पुस । आज दिनभरजसो दाङको तुलसीपुरमा बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोको साम्राज्य थियो ।  पुसको सिरेटोले जनजीवन प्रभावित पारिरहेको बेला प्रथम तुलसीपुर महोत्सवमा भने दर्शकलाई चिसोको कुनै प्रवाह थिएन । चिसोको कुनै प्रवाह नगरी हजारौँको संख्यामा ओर्लिएका दर्शकहरूले मौसमको प्रतिकूलतालाई सङ्गीतको न्यानोपनले बिर्सिदिए । 

जब लोक सङ्गीतका नक्षत्र बद्री पंगेनी र लोकदोहोरीकी ’क्विन’ टिका सानुले स्टेज सम्हाल्नुभयो, तब चिसोले कठाङ्ग्रिएको भीड एकाएक तात्यो । बद्री पंगेनीको सशक्त स्वर र टिका सानुको जादुमयी प्रस्तुतिमा दर्शकहरू यसरी झुमे कि उनीहरूलाई समय र मौसमको कुनै ख्यालै रहेन । 

उनीहरूसँगै गायक एमटी महरले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिलाए । साँझ ६ बजिसक्दा र अँध्यारोले छोइसक्दा पनि महोत्सवस्थलमा दर्शकको उपस्थिति अलिकति पनि पातलिएको थिएन । बरु भीड झन्‌–झन् बढ्दै गएको देखिन्थ्यो । 

बाक्लो हुस्सुलाई चिर्दै गुञ्जिरहेका लोक धुनहरू र दर्शकको हुटिङले पूरा तुलसीपुर क्षेत्र नै गुञ्जायमान बन्यो । चिसो मौसममा पनि कला र कलाकारप्रतिको यो अगाध प्रेमले महोत्सवलाई थप उचाईमा पुर्‍यायो । महोत्सवमा आज चर्चित हाँस्यव्यंग्य कलाकार कमल गाउँलेको पनि प्रस्तुति थियो । महोत्सवको १२ आँ दिनसम्म आइपुग्दा पनि दर्शकको सहभागीता उल्लेख्यरुपमा देखिएको छ । 

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस