रोल्पा, २४ असार । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लिबाङ, रोल्पाद्वारा सञ्चालित रोल्पा नगरपालिका – २, मुलपानीस्थित केन्द्र समूह नं. १५ मा आबद्ध सदस्य लालसरी खत्रीको असामयिक निधन भएपछि बीमा दाबीबापतको रु. ४ लाख ७५ हजार रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा रोल्पा नगरपालिका – २ का वडा अध्यक्ष प्रकाश डाँगीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यहरूलाई केवल वित्तीय सेवा मात्र नभई जीवनका दुःखद क्षणमा पनि अभिभावकत्वको भूमिका निर्वाह गरेको बताएका हुन । उनले थप भन्नुभयो, “सुखमा धेरैले साथ दिन सक्छन्, तर दुःखको घडीमा साथ दिने संस्था नै वास्तवमा विश्वासको आधार बन्छ । आज प्रदान गरिएको बीमा रकम आर्थिक सहयोग मात्र नभई सदस्यप्रति संस्थाले निर्वाह गरेको जिम्मेवारी, संवेदनशीलता र सामाजिक उत्तरदायित्वको ज्वलन्त उदाहरण हो ।”
उनले यस्तो कार्यले पीडित परिवारलाई आर्थिक राहत मात्र नभई मनोबलसमेत प्रदान गरेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई आग्रह गरेका हुन । साथै, सदस्यहरूलाई बीमा तथा बचत कार्यक्रमप्रति अझ बढी सचेत भई यसको अधिकतम लाभ लिन अनुरोध गरेका थिए ।
त्यसैगरी, शाखा प्रमुख झनक राज ओझाले संस्थाले सदस्यहरूको आर्थिक उन्नतिसँगै सामाजिक सुरक्षालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताएका हुन । सदस्यको दुःखद निधनपछि परिवारलाई तत्काल आर्थिक राहत पुगोस् भन्ने उद्देश्यले बीमा दाबी रकम हस्तान्तरण गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सदस्यहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा रोल्पा नगरपालिका – २ का वडा अध्यक्ष प्रकाश डाँगी, संस्थाका रोल्पा शाखा प्रमुख झनक राज ओझा, कर्मचारीहरू गणेश ओली, नरेन्द्र चन्द र रोज नेपाली, केन्द्र समूह नं. १५ का सदस्यहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
