२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रसुवा बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको अपिल

दाङ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका कार्यसमितिले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि सबैलाई अपिल गरेको छ । कार्यसमितिका सभापति जीवन भण्डारीद्वारा जारी अपिलमा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै सम्पर्कविहीन तथा प्रभावित नागरिकको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

रास्वपा तुलसीपुरले विपद्को समयमा सबै नेपाली एकजुट भएर मानवीय सहयोगमा जुट्नुपर्ने भन्दै सामाजिक संघ संस्था, उद्योगी व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई उद्धार र राहत कार्यमा हातेमालो गर्न आह्वान गरेको छ । बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ र खोज तथा उद्धार कार्य जारी रहेको छ ।

अपिलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सक्ने सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस