२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

विपद् प्रभावितका लागि लुम्बिनी फ्युचर पाथद्वारा १ लाख २ हजारभन्दा बढी सहयोग

दाङ, ११ भदौ । देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिकहरू प्रभावित भइरहेका बेला लुम्बिनी फ्युचर पाथ प्रा.लि.ले विपद् प्रभावितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।

लुम्बिनी फ्युचर पाथ प्रा.लि.अन्तर्गत सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको एक दिन बराबरको तलब कट्टा गरी संकलन गरिएको रु. १ लाख २ हजार २ सय २६ रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको हो ।

विपद्का कारण ज्यान गुमाउने तथा प्रभावित भएका नागरिकप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्को यस कठिन समयमा पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार लुम्बिनी स्मार्ट स्कुल, दोघरे, दाङबाट रु. ६० हजार ३ सय ३३, लुम्बिनी मोडर्न स्कुल, हेमन्तपुर, दाङबाट रु. २० हजार १ सय ६३ र लुम्बिनी आइडल स्कुल, हापुरे, दाङबाट रु. २१ हजार ७ सय ३० सहयोग संकलन भएको हो ।

तीनवटै विद्यालयबाट संकलित रकम गरी जम्मा रु. १ लाख २ हजार २ सय २६ प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । बैंक भुक्तानी विवरणमा समेत उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषका नाममा सफलतापूर्वक जम्मा भएको उल्लेख छ ।

लुम्बिनी फ्युचर पाथ प्रा.लि.ले विपद्को समयमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मानवीय सेवामा आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा संस्थाको यो पहलले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना प्रस्तुत गरेको छ ।

संस्थाले विपद्मा परेका नागरिकको साथमा उभिन तथा राहत र पुनःस्थापनाका कार्यमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस