दाङ, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका – ९, बेलुवास्थित सक्सेस एकेडेमी ले भद्रकाली टोल विकास संस्थाको समन्वयमा भव्य वृक्षारोपण तहा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय समाजसेवी, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय परिवार तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक प्रदीप ओली ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भद्रकाली टोल विकास संस्थाका सचिव नारायण प्रसाद के.सी. को गरिमामय उपस्थिति रहेको थियो । त्यसैगरी विद्यालयका सह-प्रधानाध्यापक गोपाल गिरी तथा मा वि संयोजक बिमल नेपाल अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो भने कार्यक्रमको समायोजन नेत्रमनी पाण्डेले गरेका थिए | विद्यालयको सक्सेस इको क्लब का सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र प्रेरणादायी बनाएको थियो ।
कार्यक्रममा बोल्दै सह-प्रधानाध्यापक गोपाल गिरी ले विश्व वातावरण दिवसको महत्वमाथि प्रकाश पार्दै वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी भएको बताएका हुन । उनले विद्यार्थीहरूलाई प्रकृतिप्रति प्रेम, संरक्षण र जिम्मेवारीको भावना विकास गर्न आग्रह गरेका थिए ।
त्यसैगरी प्रमुख अतिथि नारायण प्रसाद के.सी. ले आफ्नो मन्तव्यका क्रममा सक्सेस एकेडेमीले वातावरण संरक्षणका क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गरेका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम अन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाई तथा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए । सहभागीहरूले “आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण निर्माण गर्छ” भन्ने सन्देशलाई आत्मसात गर्दै वृक्षारोपणमा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति तथा विद्यालयका प्रधानाध्यापक प्रदीप ओली ले वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै वृक्षारोपणलाई केवल एक दिनको कार्यक्रमका रूपमा नभई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा राखेका थिए । उनले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस वृक्षारोपण तथा सरसफाई कार्यक्रमले वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुका साथै विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।
