दाङ, २१ काक्तिक । दाङको तुलसीपुरमा युवाको भूमिका, सामाजिक जिम्मेवारी र समसामयिक विषयमा केन्द्रित ‘वर्तमान समाज र युवा’ विषयक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । Conscious Circle को आयोजनामा तुलसीपुर स्थित मेट्रो हलमा दीपावलीको शुभकामना आदान प्रदान सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उद्यमशीलता, व्यक्तिगत वित्त व्यवस्थापन, साइबर कानुन, सञ्चार माध्यमको प्रभाव तथा विश्व राजनीतिले नेपालको अर्थतन्त्र र सर्वसाधारणको भान्सामा पारेको प्रभाव लगायतका विषयमा छलफल गरिएको थियो । चार्टर्ड एकाउन्टेन्ट तथा म्यानेजमेन्ट कन्सल्टेन्ट दिपक सेट्टिले उद्यमशीलता र व्यक्तिगत वित्त व्यवस्थापन, अधिवक्ता मधुसुदन गौतमले साइबर कानुन तथा पत्रकार दिपक बोहराले वर्तमान समाजमा मिडियाको प्रभावबारे धारणा राखेका थिए ।
त्यस्तै युवा व्यवसायी हरिश गिरीले विश्व राजनीतिले नेपालको अर्थतन्त्र र दैनिक उपभोग्य वस्तुको मूल्यमा पार्ने प्रभावबारे आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा युवा, विद्यार्थी, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले युवाको जिम्मेवारी, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र जिम्मेवार नागरिकको भूमिकाबारे विचार आदानप्रदान गरेका थिए । Conscious Circle ले युवामा चेतना, ज्ञान, आलोचनात्मक सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
संस्थाका संयोजक दिनेश सिंह नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सल्लाहकार प्रेरणा परियारले गरेकी थिइन् भने सह-संयोजक अभिना गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।






