सुर्खेत १५, काक्तिक । गन्तव्य कुरिएर सर्भिस प्रालिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर र कार्गो सेवालाई थप विस्तार गर्दै सेवाग्राहीलाई घरदैलोमै सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सुर्खेतमा शाखा स्थापना गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका १०, बसपार्क सुर्खेतमा रहेको नयाँ शाखाको उद्घाटन गन्तव्य कुरिएर सर्भिस प्रालिका निर्देशक तिलक केसीले आइतबार गरेका हुन् । शाखा सञ्चालनमा आएसँगै सुर्खेत तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई स्वदेश तथा विदेशमा कागजात, पार्सल र अन्य सामान पठाउन थप सहज हुने कम्पनीले अपेक्षा गरेको छ ।
शाखाको उद्घाटन गर्दै निर्देशक केसीले गन्तव्य कुरिएरले ग्राहकलाई भरपर्दो, छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ आफ्नो सेवा सञ्जाल विस्तार गरिरहेको बताए । उनले भने, “हाम्रो मुख्य उद्देश्य ग्राहकले कुरिएर सेवा लिनकै लागि अनावश्यक झन्झट बेहोर्नु नपरोस् भन्ने हो । सुर्खेतमा शाखा विस्तार गर्नुको उद्देश्य यहाँका नागरिक तथा व्यवसायीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कुरिएर एवं कार्गो सेवा सहज रूपमा उपलब्ध गराउनु हो । आगामी दिनमा घरदैलोमै सेवा पुर्याउँदै ग्राहकको विश्वास जित्ने हाम्रो लक्ष्य छ ।”
केसीका अनुसार गन्तव्य कुरिएरले सेवा विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्ने छ । देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै सेवाग्राहीको पहुँच बढाउने कम्पनीको योजना रहेको उनले बताए ।
त्यसैगरी, गन्तव्य कुरिएर सर्भिस सुर्खेत शाखाका प्रबन्धक रमेश लामिछानेले स्थानीय सेवाग्राहीलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउन शाखाले विशेष ध्यान दिने बताए । लामिछानेले भने, “सुर्खेत तथा आसपासका क्षेत्रका नागरिक, व्यवसायी र विदेशमा रहेका आफन्तलाई सामान पठाउन चाहने सेवाग्राहीका लागि हामी सहज माध्यम बन्न चाहन्छौँ । ग्राहकको आवश्यकतालाई बुझेर छिटो, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हुनेछ । सम्भव भएसम्म घरबाटै सामान संकलन गर्ने व्यवस्था मिलाएर सेवाग्राहीलाई थप सुविधा दिने हाम्रो लक्ष्य छ ।”
उनका अनुसार शाखाले स्थानीय स्तरमा कुरिएर सेवाको पहुँच विस्तार गर्नुका साथै व्यापारिक तथा व्यक्तिगत प्रयोजनका सामान ओसारपसारमा सहजीकरण गर्नेछ ।
गन्तव्य कुरिएरले नेपालबाट जापान, दक्षिण कोरिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, युरोप, खाडी मुलुक लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा प्रदान गर्दै आएको छ । नयाँ शाखामार्फत सुर्खेत क्षेत्रका सेवाग्राहीलाई पनि यस्ता सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
सुर्खेतमा शाखा विस्तार भएसँगै कर्णाली प्रदेशका नागरिकले कुरिएर तथा कार्गो सेवाका लागि थप विकल्प पाउनेछन् । स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने कम्पनीको योजनाले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका सामान पठाउन चाहने सेवाग्राहीलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।






