काठमाडौ, १९ भदौ । करिब २१ घण्टाको कष्टकर यात्रा पार गर्दै ROAR Movement को टोली रसुवाको धुन्चे पुगेर पाँचौँ चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।
टोलीले धुन्चेमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुरेश भट्टराई तथा माननीय जनक जंगको रोहबरमा गाउँपालिकालाई खाद्यान्न, बालबालिका तथा वयस्कका लागि लत्ता कपडा, महिला लक्षित कपडा, औषधि, मेडिकल सामग्री लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।
ROAR Movement का अनुसार प्रभावित क्षेत्रमा अपेक्षाकृत कम मात्रामा राहत सामग्री पुगेको जानकारी प्राप्त भएको छ । बाढीका कारण उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको र धेरै मानिस सम्पर्क विहीन रहेको बताइएको छ ।
राहत वितरण टोलीमा ROAR Movement का संयोजक हरिश गिरीसहित स्मृति बराल, सुप्रिया नेपाली, बन्दना साम्पाङ, सन्ध्या बराल, करुणराज गिरी, सबिन ढकाल र निशान उप्रेतीलगायत सहभागी थिए ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री, कपडा तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता अझै रहेको भन्दै ROAR Movement ले सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ ।
