दाङ, ८ कात्तिक । तुलसीपुर यातायात प्रालिले दाङ–काठमाडौं रात्रिकालीन सेवाका लागि तीनवटा सुविधा सम्पन्न गुराँस एसी बस सञ्चालनमा ल्याएको छ । यात्रुको माग र सुविधालाई मध्यनजर गर्दै नयाँ बस थप गरी काठमाडौं रुटमा सञ्चालन गरिएको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् । यस अघि विभिन्न प्रकारका एसी तथा डिलक्स बसमार्फत दिवा र रात्रिकालीन सेवा दिँदै आएको प्रालिले यात्रालाई थप आरामदायी र सुविधासम्पन्न बनाउने उद्देश्यले नयाँ बस भित्र्याएको हो ।
तुलसीपुर यातायात प्रालिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रालिका उपाध्यक्ष धनसिं खत्री, प्रशासनिक सचिव निमकुमार श्रेष्ठ र कोषाध्यक्ष छविकुमार डाँगीले पूजाआजा गरी नयाँ बस सेवाको शुभारम्भ गरेका थिए । नयाँ बसहरू घोराहीबाट सञ्चालन हुनेछन् । यात्रुलाई सुरक्षित, सहज र आरामदायी सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरेका थिए । अध्यक्ष बुढाथोकीले यात्रुहरूसँग मर्यादित र यात्रुमैत्री व्यवहार गर्न तथा यात्राका क्रममा आवश्यक सुविधा उपलब्ध गराउन व्यवसायीलाई निर्देशन दिएका छन् व्यवसायी विष्णु विश्वकर्माका अनुसार नयाँ गुराँस एसी बसमा आरामदायी सोफा सिटसहित आधुनिक सुविधा उपलब्ध छन् । करिब एक करोड रुपैयाँ लागतका प्रत्येक बसमा आठवटा स्लीपर सिट र ३७ वटा सोफा सिट रहेको उहाँले जानकारी दिएका छन् ।
प्रालिका कार्यालय प्रमुख विमल गुप्ताका अनुसार तुलसीपुर यातायात प्रालिले यसअघि गरुड एसी, शुभकामना एसी, क्विन एसी, गोल्डेन एसी, मयुर एसी, तुलसीपुर एसी, कल्की एसी र यार्सा एसी बससहित हाइस तथा एसी ईभी हाइस सञ्चालन गर्दै आएको छ ।






