दाङ, २१ मंसिर । गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । विगत ८ वर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिँदै आएको एकेडेमीले आगामी शैक्षिक सत्र देखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ । एकेडेमीले बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो । गुरुकुलले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सञ्चालन गर्ने लागिएको संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।
शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी, गुरुकुल एकेडेमी भन्ने नारासहित बिस २०७२ सालमा दाङको स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलता पछि अव तुलसीपुर र लमहीमा सेवा विस्तार गर्न लागेको उनले जानकारी दिए। घिमिरेले पछिल्लो समय बालबालिकाहरूमा पाठ्यपुस्तकसँगै जीवन उपयोगी, अतिरिक्त तथा प्रविधिमैत्री शिक्षा पनि अति आवश्यक भएको हुँदा यसलाई मध्यनजर गर्दै गुरुकुल एकेडेमी अगाडि बढेको बताए ।
कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले दाङमा सरकारी तथा निजीस्तरका धेरै विद्यालयहरू भएयता पनि गुरुकुलले प्रदान गर्ने शिक्षा संस्कार बेग्लै प्रकारको भएको बताए । यसकारण पनि अभिभावकहरू यसतर्फ आकर्षित भएकोमा जोड दिए । डिसीले उनले गुरुकुलले शिक्षामा नयाँ इँटा थप्ने काम गरेको समेत बताए ।
कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका नवनियुक्त प्रिन्सिपल मुकुन्द गिरीले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन तुलसीपुरबाट सेवा विस्तार सुरु गरेको बताए । विद्यालयमा जीवन उपयोगी सीपहरूलाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराइने उनले बताए। प्रविधि मैत्री कक्षा कोठा ,शान्त र सुरक्षित वातावरण हुने भएकाले एकेडेमीले अरुभन्दा फरक व्यवस्थापनमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । पुराना संस्कार संस्कृतको संरक्षण सम्मुनत मानव निर्माण गुरुकुलको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । उनका अनुसार आगामी शैक्षिकसत्र देखि पठनपाठन सुरु हुनेछ भने यही माघ ११ गते सरस्वती पूजाको दिन देखि नयाँ भर्ना अभियान खुला हुनेछ ।शिक्षाविद् रामचन्द्र कँडेलले आँउदो शैक्षिकसत्र देखि लमही क्षेत्रमा पनि विद्यालयले पठनपाठन सञ्चालन गर्ने योजना रहेको बताए ।
संस्थाका सिइओ जयन्त उपाध्याय भ्याली स्टार बोर्डिङ स्कुललाई मर्ज गरि गुरुकुल एकेडेमी तुलसीपुर स्थापना गरेको बताए । शिक्षाविद् विष्णुकुमार देवकोटाले सीपयुक्त जनशक्ति निर्माणमा गुरुकुलले विशेष ध्यान दिनुपर्ने बताए। गुरुकुल एकेडेमी तुलसीपुरका सञ्चालक समिति सदस्य अभियान बस्नेतको स्वागत सहजीकरण प्लसटु कोर्डिनेटर निमानन्द गैरेले गरेका थिए ।