२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

प्रदेश प्रमुख घर्तीद्वारा प्रतिष्ठानको स्थलगत अवलोकन

दाङ, २८ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् ।  प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थीले खादा, माला र टिका लगाएर प्रदेश प्रमुख घर्तिलाई स्वागत गरेका थिए । प्रतिष्ठानका निमित्त निर्देशक डा. पन्थी र इमर्जेन्सी विभागका इन्चार्ज एमडिजिपि डा. उमाकान्त तिवारीले अस्पतालको सेवा सुविधासहित अध्ययन र अनुसन्धानमुलक काममा भइरहेका प्रगति विवरण बारे जानकारी गराउँदै प्रतिष्ठानमा शैक्षिक कार्यक्रमले गति लिँदै गएको बताए ।  

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानमा सेवा सुधारसहित शैक्षिक कार्यक्रम अनुसार अहिले एमबिबिएस पढाउने गरी प्रतिष्ठानले आफ्नो काम गरिरहेको र सोही अनुसार प्रकृया  अघि बढिरहेको जानकारी दिए ।  प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको इमर्जेन्सी सेवा, मिर्गौला रोगीका बिरामीले निःशुल्क पाइरहेको हेमोडाइलासिस सेवा, यमआरआई सेवा, सिटी स्क्यान सेवा, आइसीयुसहितको सेवा विस्तारको अवलोकन गरे । अवलोकनपछि बोल्दै प्रदेश प्रमुख घर्तिले साविक राप्तीसहित पश्चिम क्षेत्रमा प्रतिष्ठान गौरवको योजना रहेको भन्दै यस क्षेत्रलाई मेडिकल हवको रुपमा विकास गर्न आफूले सकेको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । 

घर नजिकैको स्वास्थ्य सेवा सबै मिलेर बलियो बनाउनुपर्ने भन्दै उनले प्रतिष्ठानको समग्र विकासका लागि बजेट लगायत अन्य स्वास्थ्यका कार्यक्रमहरू अघि बढाउन केन्द्रमा लबिङ गरेर सहयोग गर्ने आश्वासन दिए । प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको अवलोकन गरेर वस्तुस्थिति बुझेर सहयोग गर्नुका साथै अस्पतालको स्तरोन्नतीमा पनि पहल गर्ने प्रतिवद्धता जनाइ दिएकोमा प्रतिष्ठानका उपकुलपति डा. लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा.  पन्थीले संयुक्त रुपमा उनलाई धन्यवाद दिए । 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस