२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

‘पुर्ण बहादुरको सारंगी’ को दाङमा भव्य साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न 

दाङ, ९ कार्तिक । वर्षकै प्रतिक्षित चलचित्र  ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान दाङमा सम्पन्न भएको छ। सरोज पौडेल निर्देशित चलचित्रको साङ्गीतिक कार्यक्रम दाङको तुलसीपुर स्थित  खचाखच दर्शकले भरिएको वि.पी.चोकमा भव्य रूपमा सम्पन्न भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरि कार्यक्रम शुरु भएपनी राती अबेर सम्म आफ्ना प्रिय कलाकारलाई प्रत्यक्ष हेर्ने र सेल्फी खिच्नेको भिड भने कम थिएन कार्यक्रम स्थलमा।

चलचित्रको प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, दङ्गाली बालकलाकार स्वयं  के.सी. ,गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र अर्का दङ्गाली कलाकार सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो। गायक प्रशान्तले सिनेमाका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए। 

यस्तै बुवा विजय र छोरा  स्वयंले चलचित्र भित्रको  बुवा छोरा बीचको सम्वाद सुनाउदा कार्यक्रममा उपस्थित दर्शकबाट ताली र हुटिङको वर्षा नै भएको थियो। कलाकार विजय र अन्जना मात्र होइन कार्यक्रम उपस्थित दर्शकले समेत  बाल कलाकार स्वयं के.सी.को  खुलेरै तारिफ गरेका थिए।

कार्यक्रममा बुधबार मात्र सार्वजनिक भएको दोहोरी ब्याटल “रैया चाँदीको” बोलको गीतमा कलाकार र उपस्थित दर्शलले नृत्य गरेका थिए भने अन्त्यमा कलाकारहरू विजय, मुकुन, अन्जना र बालकलाकार स्वयं के.सी. ले ‘पुर्ण बहादुरको सारंगी’ हेर्न दङ्गाली दर्शकलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।

कार्यक्रम सुरु हुनुअघि कलाकार टोली संग चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले चलचित्रमै केन्द्रित प्रेसमिट गरेको थियो भने चलचित्रका प्रमुख कलाकारहरुले दाङको पहिलो र एकमात्र मल्टिप्लेक्स सिनेमा हल भिएफएक्स सिनेमाज नारापुरमा  प्रमोशनल भिजिट समेत गरेका थिए।

‘पुर्ण बहादुरको सारंगी’ सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो।निर्देशक पौडेलकै लेखन रहेको चलचित्रलाई  बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माण गरेका हुन् । चलचित्रले गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ। चलचित्र कार्तिक १५ गते लक्ष्मी पुजाको दिनबाट देशव्यापी रिलिज हुँदैछ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस