२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

चलचित्र ‘कर्मा’को दाङमा छाँयाङ्कन शुरु

दाङ, २८ मंसिर । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको  फिल्म ‘कर्मा’को छाँयाङ्कन शुरु गरिएको छ । शुक्रबार दाङको पाण्डेश्वर मन्दिर धारापानीमा शुभमुहूर्त गरिएको हो । करिब ४५ दिनमा छाँयाङ्कन  सम्पन्न गर्ने गरी चलचित्रको दाङ र रुकुम पश्चिममा छाँयाङ्कन हुने निर्माण पक्षले जनाएको छ । 

दाङको घोराही, तुलसीपुर र बबई गाउँपालिकाको हापुरे लगायत क्षेत्रमा छाँयाङ्कन  हुने निर्देशक चौधरीले बताए । दाङमा छाँयाङ्कन सकिएपछि रुकुमपश्चिम जाने र त्यहाँको छाँयाङ्कन अन्तिम हुने उनको  भनाइ छ । उनले भन्दै चलचित्रको कथावस्तु दाङमा रुकुमको रहेको र  एक्सनप्रधान रहेको समेत बताए ।

उनले आफू दाङमा तेस्रो पटक  आएको दाङ सुन्दर रहेको र चलचित्र छाँयाङ्कनको लागि राम्रो लागेको समेत बताए । यसअघि उनले  ‘अगस्त्य’ लगायत चलचित्र निर्देशन गरिरहेका छन् । चलचित्रको मुख्य भूमिकामा विपिन कार्की , उपासना सिंह ठकुरी देखिने भएका छन् । साथमा कलाकारहरू  मुकुन  भुसाल, सरिता गिरी, दिव्यदेव, अनिल बुढाथोकी लगायत रहेका छन् । संजय लामाको छायाङ्कन रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्मको निर्माता दाङको तुलसीपुर निवासी वसन्त लम्साल रहेका छन् ।

निर्माता लम्सालका अनुसार सामाजिक परिवेशमा चलचित्र बन्न लागेको हो । हाल अमेरिकामा बस्दै आएका निर्माता लम्सालले आफ्नो गीतसङ्गीतमा रुचि रहेको र त्यसै कारणले पनि यो चलचित्र बनाउन लागेको बताए । उनले भने,‘ म अहिले अमेरिकामा बस्दै आएको छु । मलाई यो क्षेत्रमा केही गरौँ, भन्ने लागेको थियो । त्यसैअनुसार मैले यो चलचित्र निर्माण गर्न लागेको हुँ । यो कार्यले मलाई आफ्नो देश तथा ठाउँसँग जोडिने, अवसर पनि दिएको छ । ’ यस्तै उनले आफूले पहिलो पटक चलचित्र निर्माण गर्न लागेको भन्दै दाङवासीलाई माया गरिदिन समेत आग्रह गरे । ४ करोडभन्दा बढिको लगानीमा चलचित्र बन्न लागेको उनको भनाइ छ । यो फिल्मको प्रदर्शन मिति नयाँ वर्षको छेकोमा चैत २९ गतेलाई तय गरिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस