२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल सुरु

दाङ, ११ पुष । दाङको तुलसीपुरमा बिहिबारदेखि दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसीपुरमा सञ्चालित प्रतियोगिताको नेपाली काँग्रेस तुलसीपुर नगर सभापति  अध्यक्ष सुरेश हमालले उद्‌घाटन गरेका थिए । उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नगर सभापति हमालले सभ्य समाज निर्माणमा खेलकुदको अहम् भूमिका रहेको बताए ।खेलकुद स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो हो यसले सभ्य समाज निर्माण र रूपान्तरणमा अहम् भूमिका निर्वाह गरेकाले यसको गरिमा लाई सदैव उच्च राख्नु पर्ने उनले बताए ।

उनले अनुशासनको उच्च आदर्श लाई आत्मसात गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्न खेलाडी लाई आग्रह समेत गरे । नेपाल शिक्षक सङ्घ तुलसीपुर नगर अध्यक्ष घनश्याम डाँगीको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय युवा सङ्घ लुम्बिनी प्रदेश खेलकुद विभाग प्रमुख दीपक केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा  दाङ जिल्ला भलिबल सङ्घका उपाध्यक्ष भरत कँवर लगायत बोलेका थिए । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरका सञ्चालक राजु ऐरीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन दाङ जिल्ला भलिबल सङ्घका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

 यसैबीच  उद्‌घाटन खेलमा रुकुम पश्चिमले बिजयी सुरुवात गरेको छ । गुरुजजुर नमुना मावि रक्षाचौरलाई २५ –१६ र २५–१९ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिम ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत  शुक्रबारको पहिलो खेलमा अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुर र  रुकुम भलिबल टिम भिड्नेछन् । खेल बिहान ७ बजे बाट सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा न्यु स्टार र जनश्रम मावि खाद्रे, तेस्रो खेलमा ग्रेट अरनिको मावि तुलसीपुर र नेपाल राष्ट्रिय युवा सङ्घ तुलसीपुर ३ आमनेसामने हुनेछन् ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पूर्व सञ्चालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमशः नगद ५०, ३० र १५ हजार पुरस्कारसँगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विद्याका खेलाडी लाई ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस