दाङ, १४ माघ । तुलसीपुर उपमहानगरपालिका ६ स्थित मावि तुलसीपुर सेन्टरको ५४ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक प्रगतिमा मावि तुलसीपुर सेन्टरले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
उनले विद्यालय, अभिभावक र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सामुदायिक विद्यालयको महत्व बढाउनुपर्ने बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्काले विद्यालयलाई शैक्षिक सेन्टरको रूपमा स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले विद्यार्थीहरूको भविष्य निर्माण अभिभावक र विद्यालयको सहकार्यमा निर्भर हुने तर्क गरे ।
उनले भने, ‘जिन्दगी आइसक्रिम जस्तै हो । यसलाई विद्यार्थीहरूले कसरी उपयोग गर्छन्, त्यो महत्त्वपूर्ण छ ।’त्यस्तै मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले सामुदायिक विद्यालयहरू धराशायी भए भन्ने भाष्यलाई यस मावि सेन्टर उदाहरणीय बनेको बताए । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र उपलब्धिहरू जानकारी गराए। उनका अनुसार हाल विद्यालयमा २५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्राविधिक शिक्षामा ६०० विद्यार्थी र निःशुल्क शिक्षामा २०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । उनले भने, ‘यो विद्यालय मेघा विद्यालयको सूचीमा पर्न सफल भएको मात्र होइन, सामुदायिक विद्यालयहरूको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ ।’विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत मार्सल आर्ट, खेलकुद, नृत्य जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सृजनात्मक क्षमताको विकासमा सहयोग पुर्याएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसले स्थानीय संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा विद्यालयको योगदान देखाएको छ । कार्यक्रममा अभिभावक तर्फबाट केपी भण्डारी, हापुरे माविका प्रधानाध्यापक जितबहादुर खत्री, पूर्व शिक्षक सूर्यप्रसाद पौडेल, तुलसीपुर वडा नं. ६ का कार्यवाहक अध्यक्ष यमुना परियार, पत्रकार सुशील बस्नेत, जनश्रम माविका प्रधानाध्यापक माधव भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भोला पौडेल र शिक्षिका मेनका भण्डारीले गरेका थिए ।