दाङ, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । अमर माध्यमिक विद्यालय उरहरीमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मङ्गलबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गरे उनले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत बताए । उनले खेलकुदलाई पर्यटन प्रवर्द्धनसँगै जोडेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको समेत बताए ।
प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको छ ।
यो प्रतियोगिता खेलाडीहरूको सीप र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो ।