दाङ, ४ फागुन । दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीकरण रहने भएका छ । आज आइतबार चर्चित कलाकार बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याललगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिएका छन ।
कार्यक्रम उद्घोषणको जिम्मेवारी वर्षा पाण्डे र माधव खत्रीले सम्हाल्नेछन् । साथै, स्थानीय कलाकारहरूद्वारा बेजोड प्रस्तुति पनि रहनेछ ।
यस महोत्सवको संरक्षण तुलसीपुर उपमहानगरपालिकाले गरेको छ । आयोजक संस्थाका अनुसार महोत्सवले कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ । महोत्सव अवधिभर स्थानीय उत्पादन, हस्तकलाका सामग्री, कृषि उपकरण, व्यवसाय प्रवर्द्धन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ ।
स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तारू भन्ने नाराका साथ तुलसीपुरमा दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ जारी छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन १ देखि १६ गतेसम्म तुलसीपुर–६ हात्तिखौवामा महोत्सव सञ्चालन भैरहेको छ ।