दाङ, ३० बैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नठानेको बताएका छन् ।
गुरुङले आफ्नो राजीनामाको कारण जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नहुने आफ्नो मान्यता व्यक्त गरेकी छन् । उनको राजीनामा स्वीकृत गर्न सभामुखलाई पत्र पठाइएको र स्वीकृत भएको जानकारी जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले दिएका छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको नम्बर डायल गर्दा स्वीच्डअफ भएको सन्देश सुनिन्छ । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।