२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

हिमाल एकाडेमीका कक्षा ११ का विद्यार्थीलाई स्वागत

दाङ, ३० साउन । तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको हिमाल एकाडेमी दाङले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । शुक्रबार एक भव्य कार्यक्रमगरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका हुन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थी आशिका चौधरीको अध्यक्षतामा तथा विद्यालय संचालक समितिका अध्यक्ष विनय कुमार मिश्रको प्रमुख आतिथ्यतामा एवं विद्यालयका प्रधानध्यापक मधुसुदन केसीको विशिष्ट आतिथ्यमा  कार्यक्रममा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले  हिमाल एकाडेमी रोजेर नयाँ शैक्षिक यात्रा सुरु गरेका विद्यार्थीलाई हार्दिक शुभकामना दिँदै नियमित अध्ययन र अनुशासनको महत्वबारे सम्झाए । “विद्यालय मात्र ज्ञान दिने ठाउँ होइन, यहाँ तपाईंहरूको भविष्य निर्माण हुन्छ,” उनले भने, “अभिभावकको विश्वास, शिक्षकको मिहिनेत र विद्यार्थीको लगनशिलताले हामीले विगतदेखि नै उत्कृष्ट नतिजा दिँदै आएका छौँ ।”

मिश्रले हिमाल एकाडेमीले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै विद्यार्थीहरूलाई मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग नगरी अध्ययनमा ध्यान केन्द्रित गर्न, पुस्तकालय र प्रयोगशालाको सदुपयोग गर्न तथा खेलकुद र सिर्जनात्मक गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए ।

विशिष्ट अतिथि केसीले विद्यालय र विद्यार्थी दुवैको महत्वबारे बोल्दै भने, “विद्यालय केवल पढाउने संस्था मात्र होइन, यो चरित्र निर्माण, सीप विकास र जिम्मेवार नागरिक उत्पादन गर्ने केन्द्र हो । विद्यार्थीहरूले आफूलाई केवल परीक्षाको तयारीमा मात्र सीमित नराखी, व्यवहारिक सीप र जीवन मूल्यहरू पनि आत्मसात गर्नुपर्छ ।” उनले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय नै उत्कृष्ट नतिजाको आधार हुने बताए ।

केसीले विद्यालयले हरेक विद्यार्थीको क्षमता पहिचान गरेर त्यसअनुसार मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, विगतदेखि नै कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत र कक्षा १२ लाई विदाइ गर्ने परम्परा चलिआएको र यसले विद्यार्थीहरूबीचको माया, सद्भाव र सहयोगको भावना अझ प्रगाढ बनाउने बताए।

सोही कार्यक्रममा प्लस टु कोअर्डिनेटर सन्तोष कुमार चौधरी, शिक्षक बासुदेवी आचार्य र दिपेन्द्र डिसीले पनि मन्तव्य राखेका थिए। विद्यार्थीहरूले नृत्य र विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक नविन कुमार पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । सहजीकरण शिक्षक भिमलाल मरासेनी र कक्षा १२ की विद्यार्थी मुना बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस