२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सन्दीप लामिछानेको मुद्दा तेस्रो नम्बरमा,आज सुनुवाई

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ । किशोरी बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान लामिछानेको पुनरावेदनको पेशी आज चढेको हो।

सन्दीपले बेरित आदेश बदर गरिपाउँ भनेर गत मंसिर २९ गते उच्च अदालतमा रिट दायर गरेका थिए । तर, पटक पटक पेशी चढे पनि उनको पुनरावेदनमाथि सुनुवाइ भने हुन सकेको थिएन् । कहिले हेर्न नभ्याउने त कहिले निवेदकका वकिलका तर्फबाट पेशी स्थगित हुँदै भएको छ।

उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा परेको यो रिट तेस्रो नम्बरमा परेको छ । अहिले उक्त मुद्दाको सुनुवाई भइरहेको छ। आज नै बहस सकिएको खण्डमा आदेश आउनेछ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्। अदालतले धरौटी मागेको खण्डमा धरौटी बुझाएर रिहा भएर बाहिरै बसेर उनले मुद्दा लड्नुपर्ने छ।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। एक किशोरीले बलात्कारको उजुरी दिएपछि असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस