दाङ, २४ काक्तिक । तुलसीपुर बजारको क लाइनकाे तल्लो चोकको नामकरण तथा प्रस्तावित राउन्डअबाउट निर्माणसम्बन्धी विषयमा सार्वजनिक प्रश्न उठाएका राष्ट्रिय स्वतन्त्र पाटीका नेता हरि रिजालले केही व्यक्तिहरू आफ्नो घरमै पुगेर गालीगलौज तथा धम्की दिएको बताएका हुन ।
उनले सामाजिक सञ्जालमार्फत आइतबार तुलसीपुर बजारको तल्लो चोकको नामकरण र राउन्डअबाउट निर्माण प्रक्रियाबारे विभिन्न प्रश्न उठाएपछि साेमबार राति केही व्यक्तिहरू उनको घरको गेटसम्म पुगेर अपमानजनक शब्द प्रयोग गर्दै ‘देख्लास्, पख्लास्’ भन्दै धम्की दिएर गएको बताएका हुन ।
उनले आफू नेपालको इतिहास, राष्ट्रिय एकता तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्ने व्यक्ति भएको उल्लेख गर्दै राजा पृथ्वीनारायण शाहप्रति आफ्नो विशेष सम्मान रहेको तर ऐतिहासिक व्यक्तित्वप्रतिको सम्मान र सार्वजनिक संरचनाको नामकरण तथा निर्माण प्रक्रियाबारे प्रश्न उठाउनु फरक विषय भएको बताएका हुन ।
उनले तुलसीपुरको बाहिनी चोकलाई पृथ्वी चोक नामकरण गर्ने निर्णय कसले गरेको हो, कुन प्रक्रियाबाट निर्णय गरिएको हो, प्रस्तावित राउन्डअबाउट निर्माणको प्राविधिक आधार के हो र यसमा स्थानीय सरकारको भूमिका तथा स्वीकृति कहाँ छ भन्ने विषयमा स्पष्ट जवाफ मागेका हुन ।
लोकतन्त्रमा नागरिकले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउन र आफ्नो विचार व्यक्त गर्न पाउनुपर्ने बताउँदै उनले विचारसँग विचारकै माध्यमबाट असहमति राख्नुपर्ने धारणा व्यक्त गरेका हुन ।
घरमै पुगेर गालीगलौज गर्नु, परिवारलाई त्रसित बनाउनु र व्यक्तिगत सुरक्षामाथि आशंका उत्पन्न हुने गरी धम्की दिनु स्वीकार्य नहुने उल्लेख गर्दै उनले घटनाको विरोध गरेका हुन ।
उनले आफू कुनै पनि धम्कीका कारण सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने अधिकारबाट पछि नहट्ने तर कसैसँग व्यक्तिगत द्वन्द्व पनि नचाहेको स्पष्ट पारेका हुन ।
साथै, घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै आवश्यक सुरक्षा तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।
उनले अन्त्यमा व्यक्ति नभई विचारसँग बहस गर्न, धम्कीको सट्टा तर्क प्रस्तुत गर्न र प्रतिशोधभन्दा विधिको शासनलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका हुन ।






