२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष के पि ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी माघ ५ गते प्रतिनिधि सभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा ( १ ) मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

विश्वासको मत पाएको ५ दिनसम्म पनि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारी समेत दिएका छैन । सरकारलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिपक्षमा बस्ने बताएको छ भने एकीकृत समाजवादी र लोसपाले प्रतिपक्षमा बस्नेबारे ठोस निर्णय गरिसकेका छैनन् ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस