नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वर पुगेका थिए । नेम्वाङको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् भने समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।
इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष छन् ।