तुलसीपुरको नयाँ बसपार्क पुल्चोकमा जयशिव महाकाल मानवसेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रबार आश्रमले पत्रकार सम्मेलन गरेर श्रीमद्भागवत महापुराण तथा शिव चर्चाको आयव्यय विवरण सार्वजनिक गरेको हो । आश्रमका सचिव शम्भु बूढा मगरका अनुसार फागुन २४ देखि ३० गतेसम्म ( ७ दिन ) सञ्चालन भएको महापुराणमा ८ लाख ७३ हजार २६० नगद आम्दानी भएको थियो । जसमा ८ लाख ८७ हजार ९०९ रुपैयाँ खर्च भएको छ । यस्तै, महापुराणमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी रुद्रसिंह खड्का र विमला खड्काले करिब ३० लाख मूल्य बराबरको जग्गा आश्रमलाई दान दिएको पनि उनले बताए ।
यस्तै उनले आफूहरूको यो पहिलो कार्यक्रम भएको हुँदा पनि आर्थिक रुपमा सोच जति संकलन नभएपनि आश्रमलाई जग्गा आएको हुँदा आफूहरूको अभियान सफल भएको पनि बताए । यस्तै महापुराण आयोजना गर्नुको मुख्य उद्देश्य भनेको गत कात्तिक महिनादेखि भोक र प्यास विरुद्धको निःशुल्क खाना खुवाउने अभियान गर्दै आएको भन्दै उनले त्यसलाई थप व्यवस्थित गर्नको लागि गरिएको पनि बताए । उनले भने,‘ आजसम्म हामीले १३६ दिनसम्म निःशुल्क खाना खुवाउँदै आएका छौँ । यो अभियानलाई थप व्यवस्थित गर्नको लागि महापुराणको आयोजना गरिएको हो । तर, हामी आर्थिक रुपमा सफल हुन नसकेपनि भौतिक रुपमा जग्गा पाएका छौँ । अब हामी त्यहाँ आश्रम निर्माणको लागि तयारी गर्ने छौँ । यो निःशुल्क खाना खुवाउने हाम्रो अभियान निरन्तर चलिरहने छ ।’
यस्तै उनले निःशुल्क खाना खुवाउने कार्यक्रमसँगै कपडा बैंक पनि सञ्चालन गर्न लागेको बताए । उनले भने,‘ अहिले गरिब, दिनदुःखीलाई साँझ बिहान खाना खुवाउँदै आएका छौँ । हामीले भोक र प्यास मेटाउन कोसिस गरेका छौँ । अब उनीहरूलाई शरीर ढाक्नको लागि कपडा अवश्य छ । त्यसैले कपडा बैंक अभियान सञ्चालन गर्न लागेको छौँ । ’ आश्रमका अध्यक्ष शेर बहादुर घर्ती मगरले छोटो तयारीका बावजुत पनि महापुराण सफल भएको बताए । उनका अनुसार आश्रमलाई प्राप्त भएको जग्गाको अहिले बजार मूल्य करिब ३ लाख बराबर रहेको र जसको २३ मिटर लम्बाइ रहेको छ, भने १८ मिटर चौडाइ रहेको छ । उक्त जग्गा तुलसीपुर ७ गैरापातुमा रहेको पनि उनले बताए ।
उनका अनुसार जग्गा दान गर्ने दाताले जग्गासँगै डिंग्रे शाइकुमारीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गर्ने छन् । यस्तै उनले आफूहरूले सञ्चालन गरेको महापुराणमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले पनि आफूहरूको निःशुल्क खाना खुवाउने अभियान निरन्तर चलिरहने र अहिले गाँसको व्यवस्था गर्दै आइरहेकोमा अव आश्रमले प्राप्त गरेको जग्गामा बासको व्यवस्थाको लागि निर्माण गर्ने समेत बताए । यस्तै कार्यक्रममा निःशुल्क खाना खुवाउन अभियानमा अहिलेसम्म निरन्तर निःस्वार्थ रुपमा सेवा गर्दै आएका आश्रमका सदस्य हिरा सुनारलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।