२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ: मन्त्री रेखा शर्मा

सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएकि छिन । चलचित्र क्षेत्रलाई आवश्यकता भन्दा विलासिताको रुपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको पनि उनले बताएकि हुन ।

भैरहवामा आजदेखि सुरु भएको जीवनीमा आधारित चलचित्र निर्माणसम्बन्धी कार्यशाला उद्घाटन गर्दै उनले चलचित्रलाई देश निर्माण र समाज रुपान्तरणको आधारको रुपमा लिनुपर्ने बताएकि हुन । अरु माध्यमबाट दिन नसकिने शिक्षा र सन्देश चलचित्रबाट सजिलै दिन सकिने भएकाले पनि यसलाई समाज रुपान्तरणको माध्यमको रुपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो ।

इतिहास तथा कुनै कालखण्डसँग जोडिएका मुुख्य व्यक्तित्वसँग नजिक रहेर चलचित्र लेखन, निर्माण र प्रदर्शनका लागि दक्ष स्रोत व्यक्ति र प्रशिक्षकद्वारा प्रशिक्षित गर्न आयोजना गरिएको यो प्रशिक्षण नितान्त नौलो र महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उनले यति महत्वपूर्ण कार्यक्रम विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरी पृथक विधाका चलचित्रकर्मी उत्पादन गर्ने कार्यक्रम आयोजना गरेकोमा पनि आयोजकलाई धन्यवाद दिएकि हुन ।

गौतम बुद्धको जन्मस्थल, ऐतिहासिक घटनाक्रमको थालनी भएको क्षेत्र मात्र नभै मगर, थारु, अवधि भाषी समुदायको संगमस्थलको रुपमा रहेको लुम्बिनी नेपालको महत्वपूर्ण पर्यटकीयस्थल भएको औल्याउँदै मन्त्री शर्माले यो प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र साहसिक चारैप्रकारका पर्यटन प्रवर्धनका लागि उपयोगी क्षेत्र भएकाले चलचित्र उद्योगलाई पर्यटन उद्योगसँग जोड्न र लुम्बिनी प्रदेशलाई चलचित्र छायाँकन स्थलको रुपमा प्रयोगमा ल्याउन पनि चलचित्र क्षेत्रसँग आग्रह गरेकि छिन ।

नेपाली समाजका बहुुआयामिक विशेषताहरु रहेको औल्याउँदै उहाँले बहुजातीय, बहुुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा हरेक समुदायभित्र आ–आफ्नै मौलिकताका नायकहरु रहेकाले उनीहरुको जीवनीमा आधारित बायोपिक चलचित्र निर्माणलाई व्यवसायिक रुप दिनुपर्ने बताएकि हुन । त्यसबाहेक राजनीतिज्ञ, यौद्धा, आविष्कारक, कलाकार, साहित्यकार, समाजसेवी तथा अन्य व्यक्तित्वहरुको कथा खोजी गरी चलचित्र निर्माण गर्नु र त्यसलाई विश्व बजारमा पुर्याउनु निकै महत्वपूर्ण काम हुने मन्त्री शर्माको भनाइ थियो ।

उनले बायोपिक चलचित्र निर्माणले देश र जनताका प्रिय पात्रहरुको जीवनी र संघर्षको खोजी गरी चलचित्रको माध्यमबाट विश्व सामुु चिनाउने, वायोयिक चलचित्रमा व्यवसायिकताको खोजी गर्ने, ऐतिहासिक व्यक्तित्वलाई अमरत्व प्रदान गर्ने, विदेशी लगानीकर्ताका लागि पनि लगानी गर्ने वातावरण सिर्जना हुने र चलचित्रको माध्यमबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुुग्ने विश्वास व्यक्त गरेकि हुन ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस