
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।
तीन दलका शीर्ष नेताबीच मुख्य गरी दुई विषयमा छलफल भएको छ । एउटा, संसद्का कामकारबाहीलाई प्रभावकारी बनाउने र दोस्रो, प्रतिनिधि सभामा दर्ता भएका विधेयकलाई पारित गर्ने विषय रहेको थियो ।
सदनका कामकारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा तीनै दलका नेता सहमत देखिएका छन् । “सदनका कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ । सदनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने विषयमा सबैको सहमति नै छ,” बैठकपछि एमाले अध्यक्ष ओलीले भने ।
प्रतिनिधि सभामा दर्ता भएका विधेयकका विषयमा भने सहमति जुट्न सकेन । अहिले प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र सम्पत्ति शूद्धीकरण सम्बन्धी विधेयक छन् ।
प्रधानमन्त्री दाहालले तीनै विधेयकलाई छिटो पारित गर्नुपर्ने अवस्था रहेको जिकिर गरेका थिए । संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा त्यति धेरै विवाद नभए पनि सत्य निरुपण विधेयकमा भने एमाले अध्यक्ष ओलीले असहमति राखेका थिए ।
प्रधानमन्त्री दाहालले सत्य निरूपण विधेयकलाई ‘फास्ट ट्र्याक’ पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए । “सरकारका तर्फबाट तीनै विधेयकलाई ‘फास्ट ट्र्याक’ मा संसद्बाटै पारित गरौं भन्ने कुरा राखेको थिएँ,” बैठकपछि प्रधानमन्त्री दाहालले भने, “प्रतिपक्षबाट ‘फास्ट ट्र्याक’ मा होइन, विशेष समितिमा लग्नुपर्छ भन्ने धारणा आएको छ ।”
शीर्ष नेताको बैठकमा एमाले अध्यक्ष ओलीले ‘फास्ट ट्र्याक’ लग्न नसकिने तर्क गरेका थिए । उनले यसमा अरू उपाय खोज्नुपर्नेमा जोड दिएका थिए । “सत्य निरूपण विधेयक ‘फास्ट ट्र्याक’ कति मिल्छ, कति मिल्दैन हेर्नुपर्छ । कुनै न कुनै हिसाबले मिलेर जानुपर्छ,” ओलीले भने ।
कांग्रेस सभापति देउवाले भने बीचको बाटो अपनाउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री दाहाल ‘फास्ट ट्र्याक’ र एमाले ओलीले विषयगत समितिमा लग्नुपर्नेमा जोड दिंदा देउवाले विशेष समिति बनाएर जान सकिने कुरा गरेको थिए ।
सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीच संवाद नभइरहेको अवस्थामा कुराकानी गराउन खोजेको सभामुख घिमिरेले बताए । “शीर्ष नेताहरूबीच कुराकानी नभइरहेको परिस्थित थियो, त्यसैले कुराकानी गराउने पहल गरियो,” बैठकपछि सभामुख घिमिरेले भने, “कुरानीको शुरूआत भएको छ, संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षबीच छलफल हुँदै जान्छ ।”
सत्य निरूपण लगायतका विधयेकलाई कसरी अघि बढाउने भन्ने विषयमा टुङ्गो लगाउन तीन दलका शीर्ष नेताहरूबीच फेरि चैत २८ गते छलफल हुने तय भएको छ ।