२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

नयाँ वर्षको अवसरमा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन हुँदै

तुलसीपुर उपमहानगरपालिका २ स्थित बालापुरमा विविध खेलकुद कार्यक्रम सञ्चालन हुने भएको छ । तुलसीपुर नगर युवा सञ्जालले नयाँ वर्ष २०८० सालको अवसरमा खेलकुद कार्यक्रमको आयोजना हुन लागेको हो । सोमवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि सञ्जालले बैशाख ८ गते देखि ११ गतेसम्म बालापुर खेल मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । वडाका युवाहरूको माग र महिला तथा बालबालिकाहरूमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यले टोल स्तरीय प्रथम भलिबल प्रतियोगिता, टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगिता, खुला घैँटो फोड प्रतियोगिता लगायत खुला सोलो बाइक रेस पनि सञ्चालन गर्न लागेको नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार युवा सञ्जालले विभिन्न संघ संस्थाहरूको व्यक्तिगत सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । त्यस कार्यक्रममा टोल स्तरीय भलिबल प्रतियोगितामा प्रत्येक टोल देखि २ वटा टिम समावेश हुन पाउने छन । त्यस्तै घैँटो फोड प्रतियोगितामा दाङ जिल्लाबाट जतिपनि महिला पुरुष समावेश हुन पाउने, टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगितामा १ टोल देखि ५ जनासम्म समावेश हुन पाउने छन भने खुला सोलो बाइक रेस प्रतियोगितामा दाङ जिल्लाभरका मात्र समावेश हुन पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा भलिबल प्रतियोगितामा प्रथम हुनेले २५ देखि ३० केजी सम्मको १ वटा खसी र प्रमाणपत्र, द्वितीय हुनेले २० देखि २५ केजी सम्मको १ खसी र प्रमाण पत्र प्राप्त गर्ने छन भने तृतीय हुनेले ४ वटा लोकल भाले र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै खुला घैँटो फोड प्रतियोगितामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र, द्वितीयले १५ सय र प्रमाण पत्र र तृतीय हुनेले १ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगितामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र, द्वितीयले १५ र प्रमाण पत्र र तृतीय हुनेले १ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्ने छन भने खुला सोलो बाइक रेस प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार सहित प्रमाण पत्र, द्वितीयले ५ हजार, प्रमाण पत्र र तृतीय हुनेले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार सोलो बाइस रेस प्रतियोगितामा भाग लिने व्यक्तिलाई रु ५ सय, घैँटो फोड प्रतियोगीलाई रु १ सय, महिला कुर्सी दौड प्रतियोगीलाई रु १ सय लाग्ने छ भने टोल स्तरीय भलिवल प्रतियोगीताको लागि दर्ता शुल्क निशुल्क गरिएको छ । पत्रकार सम्मेलनको सञ्चालन खेलकुद कार्यक्रमका संयोजक भीम ओली ( एस वि ) ले गरेका थिए । साथै खेलकुद कार्यक्रमको उद्घाटन बैशाख ८ गते बिहान १० बजे गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस