धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो । उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको पाइएको छ । कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन् ।
यस्तै सो पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले जनाएको छ । गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जनाएका छ । माफी मिनाहा वा कैद कट्टाको विषयमा गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकबाट पारित गराएर राष्ट्रपति कार्यालयमा नामावली पठाउने गर्छ ।
त्यसपछि राष्ट्रपतिमार्फत कैद मिनाहा हुने गरेको छ । २०७२ सालमा टीकापुरमा भएको आन्दोलनका क्रममा हिंसा भड्किँदा उच्च प्रहरी अधिकारी र नाबालकसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य योजनकारको रुपमा चौधरीलाई आरोप लागेको थियो ।