२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

टिका सानुको नेतृत्वमा बनेको घर विक परिवारलाई हस्तान्तरण

दाङको तुलसीपुर उपमहानगरपालिका ७ स्थित ग्वारखोला पुल नजिकै निर्माण गरिएको नवनिर्मीत घर अशक्त एवम् असहाय चन्द्रलाल विकको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । चर्चित लोक दोहोरी गायिका तथा समाजसेवी टिका सानुको नेतृत्व, क्यानडामा बस्दै आउनु भएकी पुर्व पत्रकार एवम् समाजसेवी सन्जु केसीको आर्थीक सहयोग र अनलाईन टि.भी पत्रकार संघ नेपाल दाङ शाखा अध्यक्ष एच.आर मगर र सचिव भिम वली (एसबी) लगाएत दाङ शाखा टिमको सहकार्यमा निर्माण गरिएको उक्त घर आज अशक्त विकको परिवारलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गायिका टिका सानुले सानै देखी आफुले पनि धेरै दुःख पिडा भोगेर यहाँ सम्म आएको भन्दै अहिले गरिब दुखीको पिडा हेरेर बस्न नसक्ने बताउनुभएको छ । कार्यक्रमको संयोजक समेत रहनुभएकी गायिका टिका सानुले मान्छे भएर जन्मेपछि सधै सत्कर्मको बाटोमा हिडेपछि मात्रै मानवताको जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने उदेश्यका साथ आफुले दिनदुखीहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । चन्द्रलाल विकको घर निर्माण अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै उहाले आगामी दिनहरुमा पनि अन्य अशक्त असहायहरुलाई सबैले सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका ७ का वडाअध्यक्ष राम बहादुर जिसीले असक्त असायहरुलाई सहयोग गर्नु राम्रो काम भएको बताउनुभएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका वडाअध्यक्ष जिसीले घरवास नभएका असक्तको घर निर्माणमा सहयोग गर्ने गायीका टिका सानु र अनलाइन टि.भी पत्रकार संघ दाङ शाखा लगाएतको टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्ता कामका लागी आवश्यक परेको खण्डमा वडाको तर्फबाट आफुले पनि सक्दो सहयोग गर्न तयार रहेको बताउनुभएको छ । यस्तै अनलाइन टि.भी पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर मगरले गरिब दुखीहरुलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाले जनताको सेवा सरकारले मात्रै गर्नुपर्छ भन्ने भ्रमलाई चिर्दै आ-आफ्नो स्थानबाट असक्त असायहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

धेरै चुनौतीका बिचमा पनि आफुहरु असक्त चन्द्रलालको घर निर्माण गर्न सफल भएको भन्दै उहाले मनले चाहाने हो भने असम्भव भन्ने कुरा केही नभएको बताउनुभयो । साथै उहाले घर निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा लिएको बताउनुभयो । गत बैशाख ९ गतेदेखी सुरु गरिएको उक्त घर निर्माण कार्य यही जेष्ठ १५ गते सम्पन्न भएपछि आज शनिबार एक कार्यक्रमको आयोजना गरेर विकको परिवारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा घर निर्माणमा मिडियाको तर्फबाट आफ्नो भुमिका निर्बाह गर्ने पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो भने अन्य क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्तीहरुलाई पनि सम्मान गरिएको थियो । अनलाइन टि.भी पत्रकार संघ दाङ शाखा अध्यक्ष एभ.आर मगरको सभाध्यतामा भएको घर हस्तान्तरण कार्यक्रमको सहजीकरण सचिव भिम वली (एसवी) ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस