२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

विभिन्न समयमा बरामद भएका झन्डै ९ हजार थान हतियार जलाएर नष्ट

नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका झन्डै नौ हजार थान हतियार जलाएर नष्ट गरेको छ । विभिन्न मिति र ठाउँबाट कानुन बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे गरी आठ हजार आठ सय ९६ थान हातहतियार बिहीवार काठमाण्डौको कपनमा नष्ट गरिएको प्रहरीले जनाएको हो।

भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एअर गन २९ थान, शर्ट गन दुई सय २९ थान, थ्रीनटथ्री राइफल छ सय २६ थान, रिभल्भर तीन सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान हातहतियार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाण्डाै महानगरपालिका–११ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हतियार नष्ट गर्नका लागि प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डाै, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्षलगायतको सहभागिता थियो ।

गृह मन्त्रालको गएको जेठ १७ गतेको पत्रअनुसार हतियार नष्ट गर्न नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा प्राविधिक टोली गठन भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस