२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

राप्ती प्रादेशिक अस्पतालमा शल्य चिकित्सक सेवा विस्तारकालागि ४ करोड

दाङ,२३ साउन । प्रदेश सरकार अन्तर्गत रहेको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पाल तुलसीपुरमा बिशेषज्ञ शल्य चिकित्सा सेवा विस्तारकालागि साढे ४ करोड बजेट बिनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नकालागि सोही बजेट बिनियोजन गरिएको हो । विरामीहरुलाई रेफर गर्ने गरेको गुनासो आएपछि लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ । प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट ब्यापक रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनिकरण गर्न बजेट समेत बिनियोजन गरेको बताए ।

शल्य चिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अबस्थाको अन्त्य हुने उनको भनाई छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”,उनले भने“यसलाई घटाउनकालागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्य चिकित्सा सेवा सञ्चालनकालागि बजेट समेत बिनियोजन गरेका छौं ।”
चालु आर्थिक बर्ष २०८०/०८१ कालागि सोही बजेट बिनियोजन भएको हो ।

त्यस्तै आस्पतालको नयाँ तला थप तथा पेडियाट्रिक ब्लकमा सेवा विस्तार गर्नकालागि औजार खरिदकालागि प्रदेश सरकारले १ करोड, औषधी भण्डारण गृह निर्माणकालागि ५० लाख रकम बिनियोजन गरिएको छ । त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतीकालागि ६० लाख, इएचआर बार्षिक सम्भार मूल्य समेत गरि ५ लाख, फोहर मैला ब्यबस्थापनकालागि ४ लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारकालागि ५ लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाई र एकद्वार संकट ब्यबस्थापन केन्द्र सञ्चालन कार्यक्रमकालागि ४५ लाख बजेट बिनियोजन भएको छ ।

त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालको लागि ओपीडी र जनरल बेड सोधभर्नाकालागि ५ करोड बजेट बिनियोजन भएको छ । केही समय अघि मात्रै अस्पतालमा एनआईसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन् । अस्पताललाई प्रदेश सरकारले ६ सय बेडमा स्तरोन्नती गर्ने निणर्य समेत गरिसकेको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस