२०८३ कार्तिक २५ गते मङ्गलवार | 2026 November 10th Tuesday

राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरुद्ध भएको दिनेको सेवा सुविधा नलिने

काठमाडौँ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको अवरुद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ। रास्वपाका सांसदहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधिसभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको छ । पत्रमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा, सुविधा आफ्नो पार्टीले नलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पहलकदमी लिन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराउन विनम्र अनुरोध गर्दछ”, पत्रमा उल्लेख छ, “राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ।”

रास्वपाले अहिलेसम्म आफूहरूले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि अनुरोध गरेको छ। रास्वपाले सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रक्रियामा जान अस्वीकार गरेर लामो समयदेखि सदन अवरुद्ध भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस