२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो सरकारमा पुगेर तोडेका छौंः मन्त्री शर्मा

प्यूठान, २ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौँदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताइन् । शुक्रबार प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले सरकार सामन्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काम मै रहेको बताइन् ।

उनले भनिन्,‘ हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौं । जनयुद्धका कारण नेपालमा सारभूत रुपमा सामन्तवादको अन्त्य भयो । तर, अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन् । तीमध्ये मिटरब्याज पनि एउटा थियो । जो हामीले अहिले परास्त गरेका छौं । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटर ब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो ।’ उनले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको समेत बताइन् ।

उनले सरकारको नेतृत्व गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढाएको उल्लेख गर्दै सेवा प्रवाहलाई सहज बनाउँदै लगेको समेत दाबी गरिन् । उनले भनिन्,‘ यसले गर्दा जनताबाट व्यापक रूपमा समर्थन प्राप्त भइरहेको । तपाईँ जनतासँगै जोडिएका कार्यकर्ताहरूले सरकारले गरेका कामलाई थप स्थापित गर्न आवश्यक छ । जनस्तरमा रहेका नेता कार्यकर्ताले सरकारका काम जनताबीच लैजाने र जनताका आवश्यकता सरकार सम्म प्रभावकारी रूपमा पुर्याउन सके सुशासन र समृद्धिको गति अझ तीब्र रुपमा अघि बढ्ने छ ।’

यही आवश्यकता बोध गरेर पार्टी तीन महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न थालेको जानकारी दिँदै उनले सबै नेता कार्यकर्तालाई अभियानमा कटिबद्ध हुन पनि आग्रह गरिन् । वर्तमान सरकारले धेरै क्षेत्रमा नयाँ तथ्य स्थापित गर्न खोजेको पनि उनले स्पष्ट पारिन् । ‘लामो समयदेखि नेपालमा उच्च तहमा बसेकाहरूले ऐन कानुन नमाने पनि हुन्छ भन्ने खालको गलत तथ्य स्थापित हुन खोजिरहेको थियो, राज्यसत्तामा बसेर जे पनि गर्न पाइन्छ भन्ने जस्तो गलत तथ्य स्थापित हुँदै गएको थियो,‘ उनले भनिन्, ‘तर वर्तमान सरकारले निष्ठाको राजनीतिक मूल्य स्थापित गर्न खोजेको छ, उच्च तहमा सबैले अझ बढी नियम कानुन मान्नुपर्छ, भन्ने तथ्य पनि स्थापित गर्न खोजिएको छ ।

यसको राजनीतिमा अर्थपूर्ण सन्देश छ ।’ भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरू निरीह र कमजोर बन्नुपर्ने र उल्टै यसले केही गर्न सकेन भन्ने बुझाई स्थापित हुने, तडकभडक र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित हुने उल्लेख गर्दै उनले जो जुन जिम्मेवारीमा छ्, उसले इमान पूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको बताइन् ।

‘सरकारले अनियमितता र भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै इमान्दारिता र निष्ठाको राजनीति गर्नेहरू प्रति सम्मान र सत्कारको मान्यता स्थापित हुन थालेको छ। भ्रष्टाचार गरेपछि एक न एक दिन कारबाहीको भागिदार बन्नैपर्ने रहेछ भन्ने तथ्य स्थापित हुन थालेको छ,‘ उनले भनिन्,‘ यसले तत्कालका लागि मात्र होइन, दीर्घकालीन रूपमा पनि नेपालमा सुशासन कायम गर्न महत्वपूर्ण आधार तयार गर्नेछ ।’

कार्यक्रममा सहभागी प्युठानका नेता कार्यकर्ताले सरकारलाई भ्रष्टाचार विरुद्धको अभियानमा आफ्ना अरुका नभनेर अझै बढी निर्मम बन्न सुझाव दिए । सरकारका कामलाई गाउँ गाउँमा प्रशंसा गरिएको भन्दै उनीहरूले अहिले जारी ठूला भ्रष्टाचारका फाइल टुङ्गोमा पुऱ्याउँदा सुशासनको पक्षमा देश नयाँ ठाउँमा पुग्ने विश्वास पनि व्यक्त गरे ।

कार्यकर्ताका जिज्ञासामा जवाफ दिँदै मन्त्री शर्माले प्रधानमन्त्रीले आफ्नो पार्टी र परिवारभित्रकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने अठोट लिएको सुनाउँदै यी सबै छानबिनले पूर्णता पाउने बताइन् । ‘हाम्रै नेता कार्यकर्ता विकृति र विसंगतिको मामलामा मुछिएको भए प्रधानमन्त्रीले छानबिन गर्ने स्पष्ट पारिसक्नुभएको छ’, उनले भनिन्, ‘सञ्चारमाध्यममा नाम आएका पार्टीकै नेताहरूले पनि अनुसन्धानलाई सहयोग गर्ने र दोषी भए सजाय भोग्न तयार रहेको स्पष्ट पारिसकेकाले कानुनवमोजिम प्रकृया अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गर्दछु ।’

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस