२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

क्रान्तिकारी कम्युनिष्ट पार्टीका दाङ जिल्ला संयोजक माओवादी केन्द्रमा समाहित

काठमाडौं, १० भदौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा माओवादी केन्द्रमा समाहित भएका छन । उनलाई एक कार्यक्रमका बिच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित गराएका हुन ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्निा सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा ‘डायमण्ड’लगायतले विकलाई खादा र अविर लगाएर स्वागत गरेका हुन । सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताएका छन । विगतमा सँगै रहेका केही कमरेडहरु अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर बढ्नुपर्ने उनले बताएका छन ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको बरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहेका छन । गत बैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबिच एकता हुँदा बिक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए । विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत विभाजन हुनुअघि बिक नेकपाको जिल्ला सचिवालय सदस्य र युवा जनस्वयंसेवकको केन्द्रीय सचिवालय सदस्य रहेका थिए ।

तुलसीपुर ५ दाङ निवासी बिक युवाहरुमाझ लोकप्रिय मानिन्छन । नेकपा माओवादी प्रदेश सदस्यको जिम्मेवारीमा रहने गरी पार्टीमा समाहित भएका बिकले दाङमा क्रान्तिकारी युवाहरुबिच नयाँ ध्रुवीकरणको थालनी गर्ने बताएका छन । अब युवाहरुको भविष्य समाजवादमा रहेको र त्यसका लागि अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रको नेतृत्वमा मात्रै संभव भएको निष्कर्षसहित आफू मूल घर फर्केको उनले बताएका हुन ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस