२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

पूर्वसभामुख, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौ , २६ भदौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनि हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बन्नुभएको थियो । उहाँकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो ।

स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका थिए ।

२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस