
दाङ, ३ कार्तिक । नेपाल प्रहरीले प्रहरी निरीक्षक र सहायक निरीक्षक गरी ठूलो संख्यामा विज्ञापन खुलाएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार खुलाएको विज्ञापन अनुसार प्रहरी निरीक्षकका लागि ९६ र प्रहरी सहायक निरीक्षकमा २६० जनाको माग गरिएको छ । समाबेशी प्रावधान अनुसार खुलाईएको विज्ञापनमा प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तहको शैक्षिक योग्यता तोकिएको छ ।
प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही कार्तिक १९ देखि आगामी मंसीर २९ गते सम्म आवेदन दिन सकिने छ । प्रहरी निरीक्षकमा अनलाईन मार्फत र सहायक निरीक्षकमा स्वंय उपस्थित भएर आवेदन दिनुपर्ने छ ।
प्रहरी निरीक्षकको हकमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, लुम्बीनी प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदुरपश्चिम प्रहरी कार्यालय धनगढीमा आवेदन दिन सकिने जनाइएको छ । त्यस्तै प्रहरी सहायक निरीक्षकको हकमा प्रदेशका तालिम केन्द्रहरुमा आवेदन दिन सकिने छ ।
