काठमाडौं,४ मंसिर । राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुगाईं प्रसाईले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शन माईतीघर मण्डलामा नहुने भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा युवा संघका ईन्चार्ज महेश बस्नेत र राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानका संयोजक दुर्गां प्रसाईंबीच भएको छलफलमा प्रशासनले दुबैलाई फरक फरक स्थानमा कार्यक्रम गर्न आग्रह गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माईतीघर मण्डलामा कुनैपनि पक्षलाई कार्यक्रम गर्न नदिने र अन्यन्त्र विकल्पको रुपमा छनोट गर्न आग्रह गरेका थिए । आगामी मंसिर ७ गते एमालेको राष्ट्रिय युवा संघ र प्रसाईँ पक्षले एकै ठाउँमा कार्यक्रम गर्ने तयारी थालेपछि प्रशासनले छलफलका लागि बोलाएको थियो ।
पछिल्लो समय प्रसाईँ र एमालेबीचको द्वन्द्व उत्कर्षमा पुगेको देख्न सकिन्छ । छलफलपछि दुवैलाई कार्यक्रम स्थल तोकिदिने तयारी रहेको पनि बुझिन्छ ।
मंसिर ७ गते दुवै पक्षले माईतीघर मण्डलालाई कार्यक्रम स्थल दाबी गरिरहेका थिए भने सरकारले भने उक्त स्थानमा निषेधाज्ञा जारी गरेर कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोक्ने तयारी गरेको छ ।
प्रसाईं वर्तमान व्यवस्थालाई उल्ट्याउदै राजा ल्याउने दाबी गर्दै आएका छन् ! भने युवा संघले सरकारको काम कारबाहीबारे जनतालाई स्प्रष्ट पार्ने भन्दै हजारौंलाई सडकमा उतार्ने घोषणा गरेको छ!