काठमाडौं, १४ पौष । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रहरी दमनमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । इपीएस कोरिया भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृहमन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्वद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको उनले बताइन् ।
आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षा बिग्रन नदिन पनि बैठकले आग्रह गरेको छ ।